मोहसिन अलि मियाँ/गोरखा
असोज ५ गते । बूढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । आरुघाट लगायतका क्षेत्रमा तत्काल मुआब्जा निर्धारण गरी प्रभावितको उचित ब्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै समितिले प्रजिअ नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आयोजनाले डुवान हुने अन्य क्षेत्रको मुआब्जा वितरण भइसक्दा आरुघाट, विशालटार लगायतका क्षेत्रमा अहिलेसम्म पनि मुआब्जा निर्धारण नहुदा अन्यौल बढेको भन्दै तत्काल समस्या समाधानका लागि दवाव दिन ज्ञापन पत्र बुझाइएको समितिका सचिव अब्दुल मियाँले बताएका छन् । त्यस क्षेत्रमा मुआब्जा निर्धारणका लागि १३ बुदे आधारपत्र समेत संलग्न गरी बुझाइएको ज्ञापनपत्रमा डुवान क्षेत्रका स्थायी बासिन्दालाई मनोवैज्ञानिक पीडा दिन खोजिएको उल्लेख छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘पुखर्यौली भुमी छोड्नु पर्दाको मनोवैज्ञानिक पीडालाई सम्बोधन हुनेगरी सबै डुवान पीडितहरुलाई उचित शेयरको ब्यवस्था गर्नुपर्छ ।’ त्यस्तै भुकम्प अघि आयोजनाले लिएको तथ्यांकका आधारमा घरको मुआब्जा निर्धारण गर्न समितिको माग छ । यसैगरी ज्ञापन पत्रमा ह्रासकट्टी नगरी घरहरुको मुआब्जाको ब्यवस्था गर्न समेत माग गरिएको छ ।
समितिका अध्यक्ष जगन्नाथ खनालले प्रजिअ भट्टराईलाई बुझाएको ज्ञापन पत्रमा गोरखाको आरुघाट, आरखेत र धादिङ्गको विशालनगर, खहरे लगायतका सबै ब्यापारिहरुको ब्यवसायको ख्यातीलाई पूर्णरुपले मुल्यांकन गरेर यसलाई समेत मुआब्जामा समेट्न माग गरिएको छ । त्यस्तै यस क्षेत्रका ब्यवसायीहरुलाई मुआब्जा पश्चात सहुलियत दरको ऋण उपलब्ध गराउन समितीको माग छ । यसैगरी तत्काल यस क्षेत्रको घर, घडेरी, संरचना तथा बोटबिरुवा लगायतको मुआब्जा निर्धारण गरी एकमुष्ट वितरण गर्न समितिले माग गरेको छ ।
त्यस्तै समितिले बजार क्षेत्रमा रहेको मुख्य सडकको प्रतिआना २५ लाख र शाखा सडकमा प्रतिआना २० लाखका दरले मुआब्जा निर्धारण गर्न समेत माग गरेको छ । यस क्षेत्रमा बासिन्दासंग आयोजनाले यस अघि पटकपटक गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै तत्काल समस्या सुल्झाउन समेत समितिको माग छ ।
थोरै जग्गामा बनेका घरहरुको बिशेष प्याकेज कार्यक्रम सहित मुआब्जा तोक्न माग गर्दै सरोकार समितिले बिहिबार गोरखामा ज्ञापनपत्र बुझाएको र आज शुक्रबार आयोजनाको कार्यालय बेनिघाट र धादिङ्गका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समितिका सचिव मियाँले बताएका छन् ।




















