कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खानी गाउँ पुरै पहिरोको जोखिममा परेको छ । अधिक बर्षा र पटक पटकको पहिरोका कारण पुरै गाउँ जोखिममा परेको हो ।
धार्चे गाउँपालिका ७ अर्थात साविक लापु गाविसको खानी गाउँमा रहेको ४० घर यो भन्दा अगाडी नै अन्य ठाउँमा सरी सकेका छन । अहिले उत्त गाउँमा ७३ घर मात्र बस्दै आएको छ । केही दिन देखी परेको अबिरल बर्षाले गाउँ नजिकै रहेको दुङ्गस्योङ खोलाले धेरै नै माटो बगाउन थाले पनि गाउँ पहिरोको जोखिममा रहेको स्थानिय बताउछन ।
जोखिम बढ्दै जान थाले पनि पछिल्लो पटक केही स्थानियले गाउँ नजिकै रहेको गोरखाकाली आधाभूत बिद्यालयमा शरण लिएका छन । पछिल्लो पटकको बर्षाले गाउँ भन्दा केही माथि बाट धाजा फाटे पछि सबै त्रसित भएका हुन ।
विस्थापितको वस्तीमा खानेकुराको अभाव
पहिरोको कारण नै यस भन्दा अगाडी गाउँ छाडेर स्थानिय बिद्यालयमा बसीरहेका ४० परिवारमा खाद्यान्न अभाव देखिएको वडाध्यक्ष सुर्यमान गुरुङ्गले टेलिफोन बाट जानकारी दिए ।
गुरुका अनुसार सबै खाद्यान्न पानीका कारण खान नहुने भएको छ । पछिल्लो समय बारीमा फलेको मकै समेत बारीमा नै कुहीएर कामै नलाग्ने भएको छ । वडाध्यक्ष गुरुङ्गका अनुसार तत्कालै खाद्यान्नको ब्यवस्था गर्न नसके आश्रय लिएको ४० परिवारमा खाद्यान्न अभावका कारण संकटमा पर्ने देखिन्छ ।
यता फेरी गाउँबाट बसाई सरेकाहरुको लागि केही परबाट पाईपलाइन मार्फत ल्याएको पानीलाई समेत पहिराले क्षेति पुरयाए पछि अहिले उनीहरुले खोलाको पानी पिउन बाध्य भएका छन ।




















