मोहसिन अलि मियाँ/गोरखा
गण्डकी प्रदेशका सामाजिक मन्त्री नरदेवी पुनले काम नगरी टिएडिए खाने प्रथाको अन्त्य गर्ने बताएकी छिन् । गोरखामा प्रदेश अन्तरगतको स्वास्थ्य कार्यालय शुभारम्भ गर्दै मन्त्री पुनले फिल्डमै नगई कागजात मिलाएको भरमा टिएडिए खाने अवस्था अव नरहेको बताएकी हुन् । प्रदेश र स्थानीय तहको काँधमा संघियता स्थापित गराउने जिम्मेवारी रहेको उनले बताएकी छिन् । ‘देशमा संघियता तपाई हाम्रै पहल र इच्छामा आएको हो, अब यसलाई स्थापित गराउने जिम्मेवारी पनि हाम्रै हो’ मन्त्रि पुनले भनिन् ‘गण्डकी प्रदेशलाई देशकै नमुना र संबृद्ध बनाएर देखाउनु पछ, यसमा सबैको भुमिका उत्तिकै महत्वपूर्ण छ ।’
हाल अधिकांश कार्यालयमा रहेको कर्मचारी समायोजनको समस्या प्रति संकेत गर्दै उनले कर्मचारी चलाउने अधिकार प्रदेशलाई नरहेको स्पष्ट पारेकी छिन् । सरकारले ल्याएको कार्यक्रमहरुको कार्यान्वयनमा कर्मचारीको इच्छाशक्तिको कमि रहेको बताउदै मन्त्री पुनले इच्छाशक्ति र जिम्मेवारी वहन गर्न नसक्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताएकी छिन् । ‘सरकारका काम कार्यान्वयन गर्न कर्मचारीमा इच्छाशक्तिको खाँचो छ, काम नगर्ने कर्मचारीलाई म खासै रुचाउदिन’ उनले भनिन् ‘काम गर्नुस म सधै तपाईहरुकै साथमा हुनेछु, तपाईलाई के आवस्यक छ म पु¥याउन सक्छु ।’
गोरखामा ‘ख’ वर्गको स्वास्थ्य कार्यालय
गोरखामा दुई जिल्ला हेर्ने गरी स्वास्थ्य कार्यालयको उद्घाटन भएको छ । गोरखा र नवलपुर जिल्ला हेर्ने गरी सदरमुकाममा ‘ख’ वर्गको कार्यालय खुलेको हो । सरकारले कार्यालयलाई तिन वर्गमा विभाजन गरेको छ । क वर्गका कार्यालयले तिन जिल्ला, ख ले दुई र ग वर्गले एक जिल्ला हेर्ने गरी जिम्मेवारी बर्गिकरण गरिएको हो ।
हालसम्म २५ जनाको दरबन्दी रहेको जनस्वास्थ्य कार्यालयमा अब ११ जनाको दरबन्दी रहने बताइएको छ । देशभर ३५ वटा जनस्वास्थ्य कार्यालय रहदा गण्डकी प्रदेशमा ५ वटा रहनेछन् । कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, जिल्ला समन्वय समितीका सभापति अशोक कुमार गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठ, बरिष्ठ जनस्वास्थ्य अधिकृत राजकुमार पोखरेल, पत्रकार महासंघकी उपाध्यक्ष अनुपमा खनाल लगायतले बोलेका थिए ।




















