नरेन्द्र ढकाल/गोरखा
भाद्र २१ गते । गोरखाको आरुघाट गाउँपालिकाले यातायात क्षेत्रमा रहेको बेथिति अन्त्य गर्ने बताएको छ । उत्तरी गोरखा प्रवेशको मुख्य नाका आरुघाटमा वर्खा पछि बन्द भएको ग्रामिण सडक सञ्चालन हुनु पूर्व आवश्यक नीति बनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । ‘आरुघाट क्षेत्र भएर चल्ने सबारी साधनको भाडा पनि अनियमित छ’ गाउँपालिका अध्यक्ष पुर्णबहादुर दाहालले भने ‘अधिकाशं ट्याक्टर लगायतका सवारी साधन चालकको लाइसेन्स नभएको पाइएको छ, गतवर्ष दुरघटना पनि बढेकाले व्यवस्थित गर्न लागेका हौं ।’
सोका लागि आरुघाट क्षेत्रमा चल्ने यात्रुबाहक र मालबाहक सवारीसाधन धनिहरुसँग छलफल गर्ने र आवश्यक मापदण्ड बनाएर मात्र यातायात सञ्चालन गर्नेे गाउँपालिकाको योजना छ । सवारी साधनको भाडादरमा एकरुपता, मालबाहक सवारीको दररेट कायम, सवारी चालक अनुमतीपत्रमा कडाई लगायतका विभिन्न प्रावधानहरु बनाउन लागिएको अध्यक्ष दाहालले बताए । ‘आरुघाटमा प्रहरी चौकीको रोहवरमा उहाँहरु सबैलाई राखेर मापदण्ड बनाउँछौ’ उनले भने ‘सोहीका अब आधारमा यातायात सञ्चालन हुन्छ ।’ गत वर्ष पनि मापदण्ड बनाएर आरुघाट गाउँपालिकाले यातायात व्यवस्थापनको प्रयास गरेको थियो ।
यसैविच वर्खाका कारण अबरुद्ध गोरखा आरुघाट सडक मर्मत गरी सवारी आवागमन सुचारु गराउने बारेमा पनि गाउँपालिकाले पहल सुरु गरेको छ । मध्ये पहाडी लोकमार्गका विभिन्न ठाउँमा जिर्ण सडक मर्मत गरी तत्काल यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । ‘कन्टिन्यू चलिरहेको ठाउँमा मैले मर्मत गरिसकेको छु’ उनले भने ‘मध्ये पहाडी लोक मार्गका विभिन्न ठाउँमा समस्या छ त्यहाँ मर्मतका लागि पहल भइरहेको छ ।’
सडक मर्मतको लागि मध्येपहाडी लोकमार्गका ठेकेदारहरु तयार भए पनि नदीजन्य पदार्थको उत्खनन कार्य बन्द रहेकाले समस्या भन्दै उनले गिट्टी बालुवा उत्खननको स्वीकृती दिन अनुरोध गरेका छन् । ‘इआइए भएका ठाउँमा ठेक्का लगाउन जिल्ला समन्वय समितिले तदारुकता देखाउनु पर्छ’ उनले भने ‘गिट्टी बालुवा पाउने बित्तिकै हामी बाटो मर्मत गराउँछौं ।’ जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको उत्खननका लागि यथाशिघ्र आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने उनको भनाई छ । ‘प्रक्रियासँग व्यवहारिकता पनि हेर्नुपर्छ’ उनेले भने ‘जिसस प्रमुख र सिडियो सापसँग पनि मेरो कुरा भईरहेको छ ।’
गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकासँगको समन्वयमा गोरखा आरुघाट सडक पनि मर्मतको पहल भइरहेको दाहालले बताए । सो बारेमा गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको छ । ‘गोरखा नगरपालिकाको मेयर सापले पनि उक्त कुरामा जोड दिइरहनुभएको छ, भिमसेनमा पनि मेरो कुरा भएको छ’ गाउँपालिका अध्यक्ष दाहालले भने ‘त्यहाँ काम गर्ने ठेकेदारले अहिले चल्न मिल्ने अबस्था बनाइदिनुपर्छ ।’ वर्खायामसँगै गोरखा आरुघाट लगायतका जिल्लाका अधिकाशं ग्रामिण सडकमा सवारी सञ्चालन हुन सकेको छैन् । गोरखा आरुघाट सडक ग्राभेल भइसकेको भएपनि जिर्ण हुँदा केही वर्ष यता वर्खामा यातायात बन्द गर्नुपर्ने अबस्था छ । आरुघाट उत्तरी गोरखा प्रवेशको मुख्य नाका हो । गोरखा सदरमुकाम र छिमेकी जिल्ला धादिङहुँदै सर्वसाधरण र पर्यटकहरु आरुघाट भएर उत्तरी गोरखा जाने गर्छन् ।




















