नरेन्द्र ढकाल/गोरखा
भाद्र १९ गते । चाडपर्व सुरु भएसँगै जिल्लामा नक्कली नोट फेला पर्न थालेको छ । जिल्ला सदरमुकामको प्राईम कमर्शियल बैंकमा ग्राहकले जम्माको गरेको १ हजारको तिन वटा नोटमा एउटै नम्बर भेटिएको छ । ‘कसले ल्याउनुभएको हो भन्ने थाहा भएन, ती नोट लुजमा आएको हुनपर्छ’ बैंकका प्रबन्धक सुदिप पौडेलले भने ‘तिन वटै नोटमा एउटै नम्बर भएकाले नक्कली हो भन्ने हाम्रो आशंका हो ।’ दिनभर जम्मा भएको रकम रुजु गर्नेक्रममा एकै प्रकृतिका ३ वटा हजारको नोट देखिएपछि नक्कली नोटको आशंका गरिएको छ ।
नक्कली रहेको आशंका गरिएका ती नोटलाई प्रमाणितका लागि राष्ट्रबैक पठाउने तयारी गरिएको छ । ‘नोट नक्कली भए नभएको पहिचान राष्ट्रबैंकले मात्र गर्न सक्छ’ उनले भने ‘हामीलाई आंशका लागेकाले जफत गरी राखेका छौ, छिट्टै राष्ट्रबैंक पठाउछौं ।’ बैंकले नक्कली आशंका गरेको नोटको नम्बर र तस्विर भने सार्वजानिक भएको छैन् ।
सोमबार साँझ गोरखा समाचारसँगको कुराकानीमा प्रबन्धक पौडेलले उक्त नोटमा उल्लेखित नम्बर बारे आफुले जानकारी नराखेकोले थप सूचना लिनका लागि मंगलबार कार्यालयमा आउन हामीलाई आग्रह गरे । ‘तपाई भोलि हाम्रो अफिस आउनु भयो भने हामी सबै डिटेल दिन सक्छौ’ उनले भने ‘ती नोट नक्कली भएको हाम्रो आशंका छ तर अहिले सबै जानकारी म सँग छैनन ।’
गत वर्ष पनि जिल्ला सदरमुकामका विभिन्न बैंकमा केही नक्कली नोट देखिएको थियो । चाडपर्वका बेला आर्थिक कारोबार बढि हुने भएकाले सक्कली नोट सँगै मिसाएर नक्कली नोट पनि बजारमा आउने गरेको देखिएको छ । प्राइम बैंकमा एउटै नम्बर भएका तिन वटा हजारको नोट भेटिए पछि यस वर्ष पनि जिल्लामा नक्कली नोटको प्रवेश भइसकेको आशंका हुन थालेको छ ।


