गोरखा समाचारदाता
गोरखा नगरपालिका नगरकार्यपालिकाका सदस्यहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । जनप्रतिनिधीलाई जवाफदेही बनाउन र नगरपालिकाले संचालन गर्ने योजना, कार्यालयबाट प्रवाह हुने सेवालाई पारदर्शी र प्रभावकारी रुपमा अघि बढाउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको आयोजक सोच नेपालले जनाएको छ । सामाजिक जवाफदेहिताका ६ वटा औजारहरुका बारे अभिमुखिकरण गराइने सहजकर्ता एवम नेपानका क्षमता विकास विज्ञ गोविन्दराज पौडेलले बताएका छन् ।
आइतबार नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख अशोक कुमार गुरुङ्ग, गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम आज सकिने बताइएको छ ।




















