गोरखा समाचारदाता
भाद्र १८ गते । जिल्ला सदरमुकाममा पानी उपलब्ध गराउँदै आएको पृथ्वीनारायण साना शहरीको सेवाप्रवाहमा चरम लार्पवाही देखिएको छ । ग्राहकको माग अनुसार पानी उपलब्ध नगराएको भनि बारम्बार आलोचना खेपिरहेको साना शहरीले बिल भुक्तानीमा पनि लार्पवाही गरेको भेटिएको हो । गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारीका ज्ञानेन्द्रकुमार श्रेष्ठको नाममा एक पटक २ लाख १८ हजार ३ सय ४७ रुपयाँको बिल आएको छ । यही भदौं १३ गते मिटर रिडिङ गराइएको श्रेष्ठको घरमा जम्मा ५ युनिट पानी खपत गर्नुभएको बिलमा उल्लेख छ । ‘जम्मा एक हजार पनि तिर्नुपर्ने रहेनछ तर २ लाख भन्दा बढिको बिल आयो’ श्रेष्ठको घरमा भाडा गरेर बसेका एक व्यक्तिले भने ‘सधै जस्तो पानी प्रयोग गरेको हो यति धेरै बिल कसरी आयो भनेर हामी त छक्क परेयौ ।’ घरधनी श्रेष्ठ भाडामा बस्नेलाई घर जिम्मा लगाएर उनी पालङटार बस्दै आएका छन् ।
गत महिना सम्म १ हजार ५६ युनिट पानी प्रयोग भएको उक्त घरमा हाल १ हजार ६१ खपत भएको देखिन्छ । तर गत महिनाको ६१५ रुपयाँ महशुल तिर्नुपर्ने उल्लेख गरिएको बिलमा भने साबिक रकम २ लाख १८ हजार ४७ रुपयाँ तिरेको जनाइएको छ । ‘मैले नै जिम्मा लिएर पैसा तिर्दै आएका थिए’ ती व्यक्तिले भने ‘असार देखिको पैसा तिर्न बाँकी थियो साउनको बिल आउँदा त्यस्तो भएछ ।’ गत १३ गते मिटर रिडिङ भए पनि शुक्रबार उनीहरुले उक्त कुरा थाहा थाहा पाएका थिए । उनले आइतबार पृथ्वीनारायण साना शहरीको कार्यालय रुजु गर्न लगाएपछि जम्मा ९ सय ४५ रुपयाँ मात्र तिर्न बाँकी रहेको पत्ता लाग्यो । ‘असार सम्मको ६१५, साउनको ३०० र असारको जरिबाना ३० गरी ९४५ रुपयाँ मात्र तिर्नुपर्ने रहेछ’ उनले भने ‘दुई दिन सम्म म त अचम्ममा परे ।’
उता साना सहरीका कर्मचारीले भने प्राविधिक कारणले त्यस्तो हुन सक्ने भन्दै ढाकछोप गर्ने प्रयास गरेका छन् । मिटर रिडिङमा खटिएका कर्मचारीले गरेको सानो प्राबिधिक गल्ती कारण यो समस्या भएको उनीहरुको ठहर छ । ‘प्राविधिक कारणले कर्मचारीबाट सानो गल्ती भएछ’ आयोजनाका व्यवस्थापक आशकाजी श्रेष्ठले भने ‘प्रिन्टमा गल्ती आएपनि हामीले बास्तबिक महशुल मात्र लिएका छौ ।’ सस्थालाई बदनाम गराउने उदेश्यले सानो प्राबिधिक गल्तीलाई पनि ठूलो बनाउने प्रयत्नन भएको उनको आरोप छ ।
यता बारम्बार यस्तो समस्या बारम्बार आउने गरेको सेवाग्राहीको गुनासो छ । केही समय अघि मात्र प्रतिक्षालयका एक व्यक्तिको घरमा सोही प्रकृतिको समस्या देखिएको थियो । साना सहरीको लापरवाहीका कारण सदरमुकामबासी आजित भएका छन् । समयमै पानी नआउने, आएपनि धमिलो आउने, रातको समयमा मात्र पानी आउने, घरमा पानी नचढ्ने जस्ता समस्या भएपनि व्यवस्थापन पक्षले ध्यान नदिएको उनीहरुको आरोप छ ।


