गोरखा समाचारदाता
स्थानीय तहमा अपेक्षा अनुसार काम हुन नसकेको नयाँ शक्ति पार्टी नेपालले ठहर गरेको छ । पत्रकार भेटघाट गर्दै नयाँ शक्ति पार्टीका जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले स्थानीय तहमा भए गरेका काम सन्तोषजक नभएको बताएका छन् । ‘स्थानीय तहले खासमा नयाँ काम गरेनन्’ उनले भने ‘केही रचनात्मक कुरा आउँछकी भनेको केही होला जस्तो छैन ।’ स्थानीय तहमा स्रोत साधनको अभाव रहे पनि योजना छनौट कार्य नै अपेक्षाकृत हुन नसकेको बताए ।
आन्तरिक रुपमा सबल बन्ने दिर्घकालिन महत्वको योजनाको अध्ययन गरेर काम गर्नुको सट्टा अन्धाधुन्ध बजेट बिनियोजन गरेको कुमालको आरोप छ । ‘त्यहाँ भित्र पनि केही अनियमितका कुराहरुका आका छन्’ उनले भने ‘त्यसैले पनि गति लिन सकेको हुनुपर्छ ।’ गोरखा नगरपालिका सहित अन्य स्थानीय तहको बजेट तथा कार्यक्रम ल्याउनु पूर्व नयाँशक्तिले स्थानीय तहका प्रमुखहरुलाई सुझाव दिएको भन्दै उनले अब भने लिखित रुपमै दबाब दिने बताए । ‘म उम्मेदवार भएका नाताले गोरखा नगरपालिकाका प्रमुखलाई नै यसो यसो गरौ भनेर योजना सुनाएको थिए तर मेरो कुरा केही कार्यान्वयन भएन’ उनले भने ‘अब लिखित रुपमै आफ्ना कुराहरु राख्छौ, सुझाव दिने कुरामा हामी अब केही पनि बाँकी राख्दैनौं ।’ त्यति गर्दा पनि पुरानै तरिकाले स्थानीय तह चल्न खोजे आफूहरु सोच्न बाध्य उनको भनाई छ ।
राजनितिक प्रशंगमा बोल्दै उनले नयाँ शक्तिमा देखिएको नितिगत, बैचारिक र संगठनात्मक समस्या सबै समाधान भएको बताएका छन् । आवश्यक तयारी बिना निर्वाचनमा जाँदा पराजय भएको निश्कर्ष निकालिएको भन्दै कुमालले अब सबै कुरा स्पष्ट भएकाले संगठन सुदृढीकरणमा लागि पर्ने योजना सुनाए । ‘निश्चित रुपमा अब हामी स्पष्ट भएका छौ, पहिले केही दुबिधा भएकै हो’ उनले भने ‘बैचारिक रुपमा प्रष्ट चित्र दिन नसक्दा हामीले चुनाव हारयौं ।’ नयाँ शक्तिले अब जिल्लाका राजनितिक, सामाजिक, आर्थिक विषयलाई जनता माझ लगेर यस अघि भएका गरेका भम्र चिर्ने योजना बनाएको उनले बताए ।


