- जग्गा नभएपछि घर कहाँ बनाउने ?
नरेन्द्र ढकाल/गोरखा
भाद्र ११ गते । पालुङटार ६ पौवाटार रामडिहीको कुमाल बस्तीमा भूकम्पले भत्काएको एउटा पनि घर निर्माण सकेको छैन । चार पुस्ता देखि भोगचलन गरेको जग्गाको लालपुर्जा आफ्नो नाममा नभएपछि त्यहाँका भूकम्प पिडितले अनुदान रकम समेत पाएका छैनन् । ‘अब के गर्ने अर्काको जमिनजेथा आफूले पाइदैन’ स्थानीय इन्द्रबहादुर कुमालले भने ‘उनीहरुले देलान् र बनाउँला भनेको अहिले सम्म दिएका छैनन ।’ उनका बाबुबाजेले बन्दिपुरका भुकुमारी पिया, भैरवकुमार पिया लगायतको व्यक्तिहरुको नाममा रहेको जग्गामा लामो समय देखि खेतिपाती गर्दै आइरहेका छन् । रामडिहीमा मात्र यस्ता १३ घर सुकम्बासी छन् । उनीहरुले भोगचलन गर्दै आएको करिब ३०० रोपनी जग्गा बन्दिपुरका साहुहरुको नाममा छ । सरकारले करमा कडाई गरेपछि बिक्रम सम्बत १९९५ अघि भु–कुमारी पिया, भैरवकुमार पिया लगायतका बन्दिपुरका व्यापारीहरुले आफ्नो नाममा उक्त जग्गा दर्ता गराएको त्यहाँका बुढापाकाहरु बताउँछन । ‘त्यो बेला हाम्रा पुर्खाले तिरो तिर्न सकेनन् बन्दिपुरका व्यापारीहरुले तिरो तिरेर आफ्नो नाममा दर्ता गराए’ लामाबैगचामा भेटिएका एक वृद्धले भने ‘त्यसपछि उनीहरुले जग्गा कमाउन यी कुमालहरुलाई दिए ।’
दुर्गे कुमालले ६५, मैसर कुमारले ४०, कालीबहादुर कुमालले ३८, खुइ कुमाल ३५ र गन्थे कुमाल ४८ रोपनी लगायत अन्यले गरी करिब ३०० सय रोपनी जग्गा त्यत्तिबेला देखि भोगचलन गर्दै आएको स्थानीयहरु बताउँछन् । २०३७÷०३८ सालमा गरिएको नापीमा उनीहरुको नाम फिल्डबुकमा पनि समाबेस गरिएको छ तर लालपुर्जा नहुँदा जग्गाको स्वामित्व भने बन्दिपुरका व्यापारीहरुको नाममा छ । सुरुमा ५ भाई कुमालहरुले भोगचलन गर्दै आएको जग्गा उनका छोरा नाती गरी १३ परिवारले बाडेर खेति गर्दै आइरहेका छन् । ‘बाबु बाजेले यहि जमिन खोस्रेर निर्वाह चलाए हामी पनि यसैबाट जिवन धानिइरहेका छौ’ इन्द्रले भने ‘तर लार्लपुर्जा नहुँदा आज घर बनाउने ठाउँपनि पाइएन ।’ अधिकाशंको नाम लाभग्राहीको सूचीमा भएपनि उनीहरुको नाममा लालपुर्जा नहुँदा घर बनाउन समस्या भएको हो ।
सोही मध्येका एक हुन खुई कुमाल, उनी उमेरले ७० काटिसकेका छन । बुढबुढी र शारीरिक रुपमा अशक्त एक छोरा बाहेक उनको अरु कोही छैन । बाबुबाजेले कमाएको जग्गामा उनी पनि खेतिपाती गर्दै आइरहेका छन् । ‘मेरो मात्र तिन पुस्ता भयो तैपनि आफ्नो नाममा जग्गाा ल्याउन सकिन्छ की भनेर हिडेको वषौं भयो’ उनले भने ‘सरकारी अड्डा अदालत जहाँ गएपनि कसैले जग्गा दिलाइदिदैन ।’ २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पले घर भत्किएपछि नयाँ घर बनाउने क्रममा सरकारी अनुदान लिनका लागि लालपुर्जा अनिवार्य भएपछि उनीसँगै कुमालबस्तीका स्थानीयहरुलाई समस्या भएको हो । ‘पैसा दिनेबेला लालपुर्जा मागिदियो, लालपुर्जा देखाउन सकिएन’ उनले भने ‘जग्गा नहुँनाले घर बनाउन पाइएन ।’ पालुङटार ६ मा मात्र २७ घरपरिवार भूकम्प पिडितहरुसँग लालपुर्जा नहुँदा पुर्ननिर्माणको काम प्रभावित भएको वडा अध्यक्ष गोबिन्द्र बराकोटीले जानकारी दिए । ‘उनीहरुको नाममा लालपुर्जा छैन्, मोहियानी हक दाबी गरेको पनि पाएका छैनन’ उनले भने ‘सरकारले भूमीहिनलाई घडेरी किन्न पैसा दिने भने पनि उपलब्ध हुन सकेको छैन ।’ २०३८ को नापीमा फिल्डबुकमा उनीहरुको नाम देखिएकाले मोहियानी हक दाबीका लागि वडा कार्यालयले सिफारिस समेत गरिदिएको छ । सुकुम्बासी भनेर प्राधिकरणमा पनि सिफारिस गरिएका छ । तर अहिले सम्म घर बनाउने जग्गा प्राप्ती हुन सकेको छैन ।
त्यत्ति बेलाको कानून अनुसार कागजपत्र बनाएर जमिन भोगचलन गर्नेलाई केही हिस्सा जमिन जग्गाधनिले मोहीको रुपमा उपलब्ध गराउनु पर्र्ने प्रवधान थियो । केही समय अघि मालपोत कार्यालयले मोहियानी हकको दाबीका लागि सूचना निकालेका बेला उनीहरु मध्ये अधिकाशंले निवेदन पनि दिएका छन् । तर आवश्यक प्रमाण नभेटिको भन्दै मालपोतले जग्गा उपलब्ध गराउन आनाकानी गरिरहेको उनीहरुको गुनासो छ । कतिपयलाई मालपोतले जग्गा धनि लिएर उपस्थिती हुन भने पनि जग्गाबालाहरु सम्र्पकमा नभएपछि स्थानीयहरु बिचल्लीमा परेका छन् ।


