नरेन्द्र ढकाल/गोरखा
साउन ३१ गते । जिल्ला मै पहिलो पटक भूकम्प पिडितलाई घर सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको छ । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएपछि निर्माण सम्पन्न भएका भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलका ४५ घरधुरीलाई बुधबार एक कार्यक्रमका वीच प्रमाणपत्र वितरण गरिएको हो । मसेलमा आयोजित एक कार्यक्रमका वीच प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले समयमै घर बनाउनेहरुलाई सम्मान र हाल बनाईरहकोहरुलाई प्रोत्साहित गराउन नयाँ खालको कार्यक्रम सञ्चालन गरिएको बताए । ‘यो हाम्रो बिल्कुलै नयाँ योजना हो, यसले घर बनाइसक्नुभएकाहरुलाई सम्मान, बनाइरहनुभएका र बनाउन सुरु नगर्नुभएकालाई पनि प्रोत्साहन गर्नेछ’ उनले भने । मापदण्ड पुरा गरी समयमै घर निर्माण गरेकाहरु मध्येबाट प्रतिनिधि मुलकरुपमा केही लाभग्राहीहरुलाई पहिलो पटक सम्मान हो । उक्त कार्यक्रम अयन्त्र पनि सञ्चालन गर्ने गाउँपालिका योजना छ । ‘सिम्बोलिक रुपमा हामीले मसेलका साबिकको ९ वटा वडाका ५÷५ जनाका दरले ४५ जनालाई प्रमाणपत्र वितरण गरेका छौ’ गाउँपालिका अध्यक्ष पाण्डेले भने ‘पहिले मसेलका अरुलाई पनि वितरण गछौ, अनि यो कार्यक्रम अन्यत्र बिस्तार हुन्छ ।’
कुल ११ सय ९५ लाभग्राही रहेको मसेलमा हाल सम्म ८ सय ५० घर निर्माण सम्पन्न भएका छन् । ति मध्येबाट पहिलो चरणमा ४५ घरलाई प्रमाणपत्र वितरण गरिएको र बाँकी घरलाई पनि क्रमश वितरण गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार मार्फत मसेलमा खटिएका इन्जिनियर नबराज दोरङ्गाले जानकारी दिए । ‘मापदण्ड पुरा गरी घर बनाउनु भएकाहरु मध्येबाट उहाँहरुले प्रमाणपत्र पाउनुभएको हो’ उनले भने ‘बाँकीले केही दिनमा पाउनुहुनेछ ।’
निर्माण सम्पन्न भएका मध्ये ३० घरले मापदण्ड बिगारेकाले प्रमाणपत्र दिन नमिल्ने भएको छ । उनीहरुले तेश्रो किस्ताको रकम बुझेपछि घरको रुवरुप बदलेर आफू अनुकुल बनाएको इन्जिनियरहरुको भनाई छ ।
मसेलका १ हजार ७५ लाभग्राहीले घर निर्माण सुरु गरेका छन् भने हाल सम्म १२३ लाभग्राहीले घर बनाउनै थालेका छैनन् । १ हजार १ सय ६ लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन भने ८९ जना हाल सम्म योजना सम्झौता समेत गरेका छैनन् । १ हजार ४२ जनाले दोश्रो र ८ सय ७८ ले तेश्रो किस्ता समेत लगेका छन् । ति मध्ये १ सय ४५ घर सेभ चिल्डेनको आर्थिक सहयोगमा निर्माण भएका हुन् ।
वडा अध्यक्ष बद्री नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका इन्जिनियर दोरङ्गा, इ एच आरपी (जाइका) का बाबुराम केसी, अमित तिमिसिल्ना लगायतको उपस्थितमा रहेको थियो ।


