- आफू अध्यक्ष हुन नपाएपछि अधिबेसन स्थगित गरेको आरोप
नरेन्द्र ढकाल/गोरखा
साउन २९ गते । होटल व्यवसायी संघ गोरखामा भाडभैलो भएको छ । आफू पुनः अध्यक्ष नबन्ने भएपछि निवर्तमान अध्यक्ष भाइचन्द्र श्रेष्ठले तेश्रो जिल्ला अधिवेशन तथा चौथो साधारण सभा स्थगित गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । यो घटना साउन २६ गतेको हो । कार्यक्रम हुनु केही दिन पहिले समितिले दुई आशयको पत्र आफ्ना सदस्यहरुलाई पठाएको थियो । शुरुमा व्यवसायी भेला र्शीषकमा केही सदस्यलाई पत्राचार गरिएको थियो भने पछि अधिवेशन तथा साधारण सभा गर्ने भन्ने व्यहोराको पत्र बाँकी सदस्यहरुलाई पठाइएको थियो । ‘व्यवसायी भेला भनेर पत्र आएको थियो, अधिवेशन भन्ने कुरा त कार्यक्रममा गएपछि मात्र थाहा भयो’ एक होटल व्यवसायीले भने । ब्यानरमा व्यवसायी भेला लेखिएको थियो । तर निवर्तमान सचिव मानप्रसाद धितालले तेश्रो अधिवेशन तथा चौथो साधारण सभा भन्दै उद्घोषण सुरु गरे । ‘सचिव र कोसाध्यक्षको प्रतिवदेन केही थिएन, अडिट समेत गरिएको रहेनछ तर पनि अधिवेसन हुन्छ भने ठिकै छ भनेर पास गरियो’ अर्का होटल व्यवसायीले भने ‘पछि आएर थाहा भयो यो त पहिले देखिको योजना रहेछ ।’ कार्यक्रमको दौरानमा अध्यक्ष भाईचन्द्र श्रेष्ठले होटल व्यवसायी संघको साबिकको समिति भंग भएको घोषणा गर्दै नयाँ निर्वाचनको लागि धिरज बहादुर मास्केको नेतृत्वमा निर्वाचन समिति घोषणा गरे । ‘मलाई लिखित जानकारी गराइएको थिएन तर पनि भेलामै घोषणा गरेपछि मैले जिम्मेवारी लिएको हुँ’ निर्वाचन समितिका अध्यक्ष मास्केले भने । होटल संघका सल्लाहाकार समेत रहेका मास्केले व्यवसायी भगवानबाबु मास्के, गोबिन्द गुरुङ र विनोद अर्याललाई निर्वाचन समितिको सदस्य बनाए व्यवसायीहरुले बताएका छन । यद्यपी गुरुङलाई भने निर्वाचन समितिमा सिफारिस नगरिएको निवर्तमान अध्यक्ष भाइचन्द्र श्रेष्ठले दाबी गरेका छन् ।
१८९ जना व्यवसायीको नामावली प्रकाशन भयो । उम्मेदवारी दर्ता सुरु लगायतका पक्रिया पनि सुरु गरियो । अध्यक्ष बाहेकका पदाधिकारीहरु पनि सर्वसम्वत चयन भए । प्रथम उपाध्यक्ष निधिप्रसाद तिमिल्सीना, द्धितिय उपाध्यक्षमा राधिका देवकोटा, महासचिवमा सिलन श्रेष्ठ, सचिवमा खड्ग श्रेष्ठ र कोसाध्यक्षमा गोपाल गुरुङ सर्वसम्वत चयन भए । यसैगरी २ महिला सहितको ८ सदस्यको पनि सर्वसम्वत निर्णय गरियोे । यतिबेला सम्म साँझको ७ बझ्नै आटेको थियो । ‘बेलुका सात बजे अघि अध्यक्ष बाहेका सबै पद टुंगिइ सकेको थियो’ निर्वाचन समितिका अध्यक्ष मास्केले भने ‘तर अध्यक्षमा भने सहमती जुट्न सकेन निवर्तमान अध्यक्ष ज्यूले अधिबेसन नै स्थगित गरेर घर हिड्नु भएछ अनि हामिले केही गर्न सकेनौं ।’ अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष श्रेष्ठ, मानप्रसाद धिताल र अञ्जनबाबु खत्रीको उम्मेदवारी परेको थियो । श्रेष्ठले धिताललाई, धितालले खत्रीलाई समर्थन गरेपछि सहमती जुट्न नसकेको एक व्यवसायीको भनाई छ । ‘भाइचन्द्र श्रेष्ठ ज्यूले आफ्ना नाममा मात्र सहमतीको प्रयास गर्नुभयो, पद छोड्न तयार हुनुभएन’ अर्का एक व्यवसायीले भने । राती १० बजे सम्म प्रयास गर्दा पनि सहमती नभएपछि निवर्तमान अध्यक्ष श्रेष्ठले अधिवेशन स्थगित भएको घोषणा गर्दै बाहिरिएको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुले निर्वाचन समितिको भूमिका पनि प्रभावकारी नभएको आरोप लगाएका छन् । यता निर्वाचन समितिका अध्यक्ष मास्केले भने आफूलाई लिखित जिम्मेवारी नदिएको, संघको विधान पनि उपलब्ध नगराएका कारण निर्णय गर्न समस्या भएको बताएका छन् । ‘जिल्लाका यति धेरै व्यवसायीको छाता सस्थामा विवाद आउनु राम्रो होइन’ मास्केले भने ‘हामी बिवाद टुंग्याउन तयार छौ तर हामीलाई लिखित जिम्मेवारी चाइन्छ ।’ शनिवार स्थगित भएको उक्त अधिवेशन पछि थप छलफल समेत हुन सकेको छैन् । ‘यसरी अनिर्णित बनाएर राख्नु हुँदैन, कि सहमतीमा टुंग्याउनु प¥यो कि निर्वाचनमा जानु प¥यो’ अध्यक्षका उम्मेदवार मानप्रसाद धितालले भने । निर्वाचनमा जान निवर्तमान अध्यक्षले श्रेष्ठ आफैले खुट्टा कमाएको अन्यको आरोप छ । यता अर्का प्रत्यासी अञ्जनबाबु खत्रीले पनि यो गतिरोधको अन्त्य हुनुपर्ने बताएका छन्,‘निर्वाचन मण्डलले विशेष पहल गर्नुपर्छ यो भ्याकुम लामो समय सम्म राख्नुहुदैन’ सहमती वा निर्वाचन एक बिकल्पबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने उनको जोड छ ।
अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष श्रेष्ठले भने समस्याको समाधान सस्थाको विधानले गर्ने प्रतिक्रिया दिएका छन् । ‘व्यवसायीको नाममा नाङ्गो राजनितिक नाच देखाइयो, त्यो हामीले सहन सकेनौं त्यसैले अधिवेशन स्थगित गरेको हुँ’ उनले भने । संस्थागत हितका लागि आफू नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको भन्दै उनले ढोका हुँदा हुँदै झ्यालबाट पस्न नहुन बताएका छन््् । ‘यो भेला मात्र थियो सबैको आग्रहमा अधिवेशनको रुपमा गएको हो’ उनले भने ‘विधानत अर्को अधिवेशन हुन्छ ।’ श्रेष्ठ इतरका व्यवसायीहरुले भने उनले नै राजनिति गरेको, पार्टी कार्यालयको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको, पुनः नेतृत्व हत्याउने प्रयास गरेको लगायतका आरोप लगाएको छ । शुरुमा नेकपाको सभाहलमा गर्ने भनिएको कार्यक्रम विरोध पछि बिसौनी होटलमा सारिएको उनीहरुको भनाई छ । वृदावन होटलका तर्फबाट होटल संघमा प्रतिनिधित्व गरेका श्रेष्ठसँग आधिकारिक सदस्यता समेत नभएका कतिपय व्यवसायीको आरोप छ । अन्य होटलबाट एक जना प्रतिनिधि राखिएको तर वृदावनबाट भने भाइचन्द्र श्रेष्ठ र प्रकाशचन्द्र श्रेष्ठ दुबैको नाम सदस्य रहेको उनीहरुको भनाई छ । वृन्दावन होटल प्रकाशचन्द्र श्रेष्ठले सञ्चालन गर्दै आएका छन् ।


