गोरखा समाचारदाता
धार्चे ६ काशीगाउँमा भएको घटनाको जिल्लाका मानव अधिकारकर्मीहरुले गम्भिर ध्यानकर्षण भएको बताएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउदै अधिकारकर्मीहरुले कानूनी राज्यको उपहास भएको भन्दै घटनाका दोशीलाई कारवाहीको माग गरेका छन् ।
उक्त घटनामा स्थानीय महिलालाइ बोक्सीको आरोप लगाउदै सामाजिक बहिष्कार गर्ने र ५२ बर्षिय भिम गुरुङको बोक्सीको कारण मृत्यु भएको भन्दै मृतकको शव चिरफार गर्नै बिरुद्ध कारवाही गर्न माग गर्दै गोरखाका मानवअधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका हुन् । मंगलवार प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाउदै मानव अधिकार संञ्जाल गोरखाले उक्त घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाका आरोपित पक्राउ गर्न गएका प्रहरीलाइ समेत हातपात गरेको र दोषीलाइ पक्राउ गर्न नसकेको प्रति लज्जित बनाएको भन्दै संञ्जालले त्यस्ता घटनामा संलग्न जो कोही भएपनि चाडो भन्दा चाडो कानूनी दायरामा ल्याउन माग समेत गरेका छन् ।
घटना सार्वजनिक भएसँगै पीडितहरु गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुलाइ गाउँमै बस्ने वातावरण सृजना गर्न समेत आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले घटनामा संलग्न दोषीहरुलाइ कारवाही गर्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोजी भइरहेको उनको भनाई छ ।




















