काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको छ ।
उनका छोरा नुरप्रसाद लामो समयदेखि सम्पर्क बिहिन थिए । चितवन जिल्ला अदालतमा आइतबार मुद्दाको पेसी भइरहँदा गंगामाया अधिकारीको सम्पर्क विहिन छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दामा समातेको नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन गरेको आग्रहका आधारमा नियन्त्रणमा लिएको बताए। ‘हामी उनलाई वीर आस्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउछौं’ उनले भने।
सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ। गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो।
यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दामा माओवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र आफन्तलाई अभियोग लगाइएको छ। ‘जनयुद्ध’ को घटनाका विषयमा मुद्दा चलाएको भनेर माओवादी पक्षले आन्दोलनसमेत गरेको थियो।
यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना पछि चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामो समय छानबिन भएन। बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो। अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ। उनको दाह संस्कार पनि भएको छैन। नुरप्रसाद भने बाबुको निधनलगतैदेखि सम्पर्कविहिन थिए।
kantipurdaily


