मोहसिन अलि मियाँ/गोरखा
साउन १४ गते । यस बर्ष गोरखाबाट हज गर्न जाने मुस्लिम समुदायलाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा जिल्लाबाट हजका लागि साउदी अरबको मक्का र मदिना सरिफमा जान लागेका गोरखाका १२ जनालाई एक कार्यक्रम गरि बिदाई गरिएको हो ।
हज गर्न जानेहरुलाई यात्रा सफलताको शुभकामना ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले देशमा धेरै जातजातीको संयुक्त बसोबासले नेपाल रंगिचंङ्गी फुलबारी बनेको बताएका छन् । ‘साच्चै देश रंगिचङ्गी छ, देशमा सयौ जातजाती छन्, धर्म मान्ने मान्छे छन्, तर यस्तो मेलमिलप भएको देश सायदै संसार मै नेपाल मात्रै हो’ भट्टराईले भने ‘फुलबारीमा एउटै जातका मात्रै फुलहरु भयो भने खासै सुन्दरता दिदैन, त्यसमा धेरै रंगिचङ्गी फुलहरु भयो भने मात्रै त्यसले सुन्दरता दिन्छ ।’

हजका क्रममा कुनै समस्या परे गृह मन्त्रालय र दुतावासमा सम्पर्क गर्न आह्वान गर्दै उनले हजयात्रामा छनौट भएकोमा बधाई पनि दिएका छन् । ‘यो एउटा अवसर हो, पैसा दिएर जान्छु भन्दा पनि नपाउने हजमा यो बर्ष तपाईहरु छनौट हुनुभएको छ, त्यसका लागि बधाइ छ’ सिडिओ भट्टराईले भने ‘हजका क्रममा देश र जिल्लाको लागि पनि प्रार्थना गर्नुहोला ।’
त्यस्तै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जिल्लाका सिंगो मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै जान लागेका हजयात्रीहरुलाई शुभकामना दिदै उनले यस कार्यक्रमले मुस्लिम र गैरमुस्लिम समुदायबिचको सम्बन्धमा थप इट्टा थपिएको बताएका छन् । ‘जिल्लामा मुस्लिम र गैरमुस्लिम समुदायको सम्बन्ध निक्कै मजबुत छ, आजसम्म मैले कुनै धार्मिक बिबाद देखेको छैन’ नगरप्रमुख पन्तले भने ‘यो हजयात्रा र कार्यक्रमले थप प्रेरणा मिलेको छ, तपाईहरुको सुखदुखमा सधै म साथमै रहन्छु ।’
इस्लाम धर्ममा आर्थिक र अन्य पक्षमा सक्षम ब्यक्तिले हज अर्थात तिर्थाटन गर्नु अनिबार्य मानिन्छ । इस्लामका पाँच आधार स्तम्भ मध्ये हज पनि एक महत्वपूर्ण स्तम्भ रहेको धार्मिक गुरुहरु बताउछन् । गोरखाबाट हजयात्रामा जानेहरुमा गोरखा नगरपालिका वडा नम्बर २ गाइखुरका मोहमदिन मियाँ, सुन्जेरा मियाँ, मस्लुदिन मियाँ, जनिफा बिबि रहेका छन् । त्यस्तै सोही वडाका इस्माइलदिन मियाँ, कसिरन विवि रहेका छन् । त्यस्तै वडा नम्बर ४ का जमिल मियाँ, सरिफा बिबि, खुदा बकस मियाँ, नुजेरा विवि लगायत रहेका छन् । गोरखाबाट आइतबार काठमाण्डौ प्रस्थान गरेका उनिहरु बुधबार मात्रै साउदी जानेछन् । यस बर्ष देशभरीबाट १ हजार २ सय १० जना हजयात्रामा जादैछन् । जसमध्ये १० जना नेपाल हज कमिटीका सदस्य रहेको अध्यक्ष मोहम्मद शोएवले बताएका छन् । उनिहरुले करिब ४५ दिन मक्का र मदिनामा बिताउने तालिकामा उल्लेख छ । कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रहमतुल्ला मियाँ, हजयात्रीको तर्फबाट जमिल मियाँ लगायतले मन्तब्य राखेका थिए ।


