मोहसिन अलिमियाँ/गोरखा
साउन ११ गते । क्यान्सर पिडित मोनिका रानाको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । केहि सयअघिदेखि बोन क्यान्सरबाट पिडित गोरखा नगरपालिका वडा नम्बर २ कोखेकि १२ बर्षिया मोनिकाको उपचारमा आर्थिक समस्या भएको थियो । उनको यस्तो अवस्थाबारे थाहा पाएपछि कोखे समाजले उनको उपचारका लागि रकम जुटाउन पहल थालेको हो । ‘हामीलाई पहिला थाहा नै थिएन, पछि मात्रै उनको अवस्थाका बारेमा जानकारी भयो, त्यसपछि हामीले उनलाई बचाउनुपर्छ भनेर आर्थिक संकलन सुरु गरयौ’ समाजका बरिष्ठ उपाध्यक्ष रामचन्द्र आले मगरले भने ‘लगभग दश दिनमा २ लाख जति रकम जुटिसकेको छ ।’
एक बर्षअघि ब्रेन ट्युमरको अप्रेशन गरेकी मोनिका हाल बोन क्यान्सर रोगबाट पिडित भएकी छिन् । तिन बर्ष अघि बुवाको मृत्यु भएपछि उनि आमाको संरक्षणमा बस्दै आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले परिवारले मोनिकाको उपचार गराउन सम्भव देखेको थिएन । मोनिकाको अवस्थाका बारेमा साउन १ गतेको गोरखा समाचार दैनिकमा समाचार प्रकाशन भएपछि मात्रै उनको समस्या सार्वजानिक भएको थियो । हाल भक्तपुर अस्पतालमा थेरापी गराइरहेकी मोनिकाको उपचारका लागि २ लाख ८ हजार रकम जुटिसकेको समाजको भनाई छ । बिशेष गरेर गोरखा नगरपालिका वडा नम्बर २ स्थायी घर भई रोजगारीको सिलसिलामा बिभिन्न देशमा रहेकाहरुबाट उनको उपचारका लागि रकम जुट्ने क्रममा रहेको समाजका बरिष्ठ उपाध्यक्ष आलेको भनाई छ ।
‘मोनिकाको अवस्थाका बारेमा मिडियामा आएपछि त्यसलाई हामीले सामाजिक सञ्जालमा सेयर ग¥यौ, सबैसंग अनुरोध गरयौ, त्यसपछि रकम जुट्न सुरु भयो’ आलेले भने ‘कोखे घर भएका र बाहिरका समेतको सहयोग मिलेको छ, बिशेषगरेर बिदेशमा बस्ने दाजुभाइहरुले उनको उपचारमा चासो देखाउनुभएको छ ।’
हालसम्म उनको उपचारका लागि कोरियाबाट १ लाख ७८ हजार ३ सय २५ र नेपालमा ३० हजार रकम जुटेको छ । रकम संकलनका लागि मोनिकाकै नाममा बैंक खाता समेत खोलिएको समाजले जनाएको छ । हाल काठमाण्डौमा ठूलोबुवा पदम बहादुर थापाको संरक्षणमा रहेकी मोनिकाको अझै ६ हप्तासम्म थेरापी गराउनुपर्ने र त्यसपछि मात्रै अप्रेशनको प्रक्रिया अघि बढ्ने बताइएको छ । तर उनको उपचारका लागि अझै ६ लाख भन्दा बढि रकम लाग्ने भएकाले अरु रकम अपुग हुने देखिएको छ । ‘अहिलेसम्म २ लाख जति उठ्यो, उनलाई एक पटक थेरापी गराउदा नै १० हजार जति सक्किदो रहेछ, अझै ६ पटक थेरापी गर्नै बाँकी छ’ कोखे समाजका बरिष्ठ उपाध्यक्ष आले भन्छन् ‘अप्रेशन गर्न नै ५ लाख भन्दा बढि खर्च हुन्छ भनेको छ ।’
रकम संकलनका लागि नेपाल इन्भेष्टमेण्ट बैंकमा मोनिका राना मगरको नाममा खाता खोलिएको र सहयोग गर्न चाहानेहरुलाई ०३६०५०३०२८०८४६ खाता नम्बरमा रकम जम्मा गरिदिन कोखे समाज र मोनिकाको परिवारले आग्रह गरेको छ ।




















