गोरखा समाचारदाता
सामाजिक सञ्जालको प्रयोग गरेर केहि ब्यक्तिहरुले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले खेद प्रकट गरेका छन् । बिहिबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पन्तले झुटो आरोप लगाउदै फेसबुकमा आफुलाई गरिएको गालीगलौज प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् । ‘फेसबुकमा मेरोे चरित्र हत्या गर्ने उदेश्य सहित कपोकल्पित ढङ्गबाट जसरी स्ट्याटस र कमेन्टहरु आएको छ त्यो अत्यन्त निन्दनिय छ, सुजन बाँनिया गोर्खालीका नामबाट १० जनालाई ट्याग गरेर एउटा ब्यक्ति र संस्थालाई नै कमजोर पार्ने उदेश्य सहित कार्य भएको छ’ नगरप्रमुख पन्तले भने ‘यो प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’
बिहिबार गोरखा नगरपालिका ४ फिनामका सुजन बाँनियाले फेसबुकमा नगरप्रमुख पन्तको फोटो सहित स्ट्याटस लेख्दै गोरखा नगरपालिकाको प्राकृतिक श्रोत साधन अवैध रुपमा दोहन गर्न मेयर राजनराज पन्त लागि परेको आरोप लगाएका छन् । त्यस्तै बाँनियाले तस्करी र माफियासंग मिलेर मेयरले मतदाताले दिएको मतको उपहास गरेको आरोप लगाउदै उनले नगरप्रमुखलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् । उनले स्ट्याटसमा भनेका छन् ‘पन्त नगरपालिकामा मेयर हैन मुसा बनेर कसरी चुहाउन, प्वाल पार्न सकिन्छ भनेर अगाडी बढिरहेका छन् ।’ बाँनिया पूर्व एमाले संवद्ध विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला सचिव रहेको खुल्न आएको छ ।
यता नगरप्रमुख पन्तले आफ्नो क्षेत्राधिकार भित्र नभएका बिषयमा आफुलाई जोडेर भ्रम फैलाउन खोजिएको भन्दै उनले विद्युतिय अपराध कसुरमा कारबाही गर्ने बताएका छन् । केहि दिन अघिदेखि अनलाइन र सामाजिक सञ्जालमा आफु बिरुद्ध श्रृंखलावद्ध रुपमा कपोकल्पित तरिकाबाट भ्रम फैलाउन खोजिएको बताउदै पन्तले समाचार र स्टयाटसमा भनिएजस्तो प्रमाण फेला परे आफु एक मिनेट पनि मेयरको कुर्चिमा नबस्ने दावी गरेका छन् । ‘मानव हो कमिकमजोरी त भइहाल्छन्, तर अनलाइन र सामाजिक सञ्जालमा भनिएजस्तो कुनै प्रमाण भेट्टाउनुस्, त्यै दिन म राजिनामा दिन्छु, यो मेरो चुनौती हो’ नगरप्रमुख पन्तले भने ‘यदि होइन भने हचुवाका भरमा कसैको चरित्र हत्या गर्ने काम कोही कसैबाट हुन्छ भने म कानुनी उपचारमा जान्छु ।’
पत्रकार सम्मेलनमा अत्यन्त भावुक मुद्रामा प्रस्तुत भएका पन्तले नगरपालिकाको आडमा आफुले कहि कतै कुनै ब्यवसायमा सहयोग पुग्ने खालको काम गरेको भए प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । छेपेटारमा संचालन भएको क्रसरमा बिधुत जडानका लागि सिफारिस दिएको स्विकार्दै पन्तले समाचारमा आएजस्तो आफ्नो संरक्षण भने नरहेको बताएका छन् । ‘हो क्रसरका लागि मैले विधुत जडानको लागि सिफारिस दिएकै हो, यो कुरा मैले कहिल्यै कसैसंग लुकाएकै छैन’ पन्तले भने ‘क्रसर सडक निर्माणको प्रयोजनका लागि भएको भन्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिफारिसका आधारमा दिएको हुँ, जिल्लामा त्यत्रो सडक बन्दैछ के हामीले त्यसलाई रोक्न मिल्थ्यो ? हामीले विकासमा सहयोग गर्ने हो कि बाधा पु¥याउने हो ?’ साथै सिफारिस दिदा आफुले सम्बन्धित वडा र स्थानीय बासिन्दासंग सल्लाह लिएर मात्र दिएको उनको भनाई छ ।
उद्योग धन्दा चलाउन अनुमती दिने आफुमा अधिकार नभएको भन्दै नगरप्रमुख पन्तले क्रसरसंगको समाचारमा आफुलाई बिना कारण जोडिएको प्रति दुख ब्यक्त गरेका छन् । त्यस्तै प्राकृतिक स्रोत साधनका बिषयमा जिल्ला समन्वय समितिले नै ठेक्का लगाउदै आएको र नियमित अनुगमन समेत जिल्ला अनुगमन समितिले नै गरिरहेकाले आफुलाई कपोकल्पित ढंगबाट बद्नियत राखि भ्रम फैलाइएको दावी गरेका छन् । ‘असार ३१ गतेसम्म प्राकृतिक स्रोत साधन हाम्रो क्षेत्राधिकार भित्रै पर्दैन, अहिलेसम्म जिल्ला समन्वयले नै ठेक्का गर्छ, अनुगमन समिति पनि नियमित अनुगमन गरिरहेको छ, अनि त्यसै हामीलाई मुछ्न मिल्छ ? जनतामा भ्रम फैलाउन पाइन्छ ?’ उनले भने ‘मलाई सामाजिक सञ्जालमा गालीगलौज गर्दै चरित्र हत्या गर्नेले एक एक शब्दको जवाफ दिनुपर्छ मलाई प्रमाणित गरेर देखाउन सक्नु पर्छ ।’


