गोरखा समाचारदाता
असार २७ गते । घर बनाउन नसकेपछि छोरा छोरीलाई शौचालयमा सुताएर कष्टर जिवन बिताइरहेका दलबहादुरको परिवार अब नयाँ घरमा बस्ने पाउने भएको छ ।
भूकम्प लगतै बनाएको अस्थायी टहरामा चुइएपछि रेडक्रशले बनाएको शौचालयको प्यानमा कपडाको बुजो लगाएर छोराछोरीलाई ओत लगाएका दलबहादुरले साउनको पहिलो हप्ताबाट नयाँ घरमा बस्न पाउने भएका हुन् । ‘जब हामीले त्यो बिजोग देख्यौ, सञ्चारकर्मी दाईहरुले समाचार बाहिर ल्याइदिनुभयो’ उक्त घर निर्माणकी अभियान्ता वर्षा ढकालले भनिन्, ‘अनि देश विदेशबाट सहयोग आउन थाल्यो ।’ उक्त समस्याका बारेमा गोरखा समाचारले पनि प्राथमिकताका साथ समाचार प्रकासन गरेको थियो ।
फेसबुकमा सहयोगको याचना गर्दै ढकालले चलाएको अभियान मार्फत ३ लाख ४६ हजार २ सय ९ रुपयाँ संकलन भएपछि दलबहादुर घर निर्माण सम्पन्न भएको हो । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरका दलबहादुरले ज्याला मजुदुरी गरेर परिवार पाल्दै आएका थिए । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले उनको घर भत्किएपछि तिन वर्ष सम्म घर बनाउन सकेनन् । पहिलो किस्ताको रकम र एक सस्थाको समन्वयमा उनको घर निर्माण कार्य थालिएपनि बिचैमा रोकिएको थियो ।
‘अब घर निर्माण कार्य करिब÷करिब सकिएको छ’ ढकालले भनिन् ‘वर्खाले समस्या भएको छ, केही दिनमा काम सकेपछि उहाँहरुलाई गृह प्रवेश गराउछौ ।’ घरमा रङ लगाउनले र झ्याल ढोका राख्ने काम बाँकी रहेकाले केही भित्र सकेर दलबहादुर परिवारलाई नयाँ घरमा स्थानान्तरण गराउने तयारी गरिएको छ । घर निर्माणका आवश्यक पर्ने रकमको जोहो भएसँगै आर्थिक संकलन अभियान पनि रोकिएको छ ।
‘घर बनाउन पुग्ने पैसा जम्मा भएपछि हामीले अभियान पनि रोकेका छौ’ अभियान्ता ढकालले भनिन् ‘सबै काम सकिएपछि घरनिर्माणका लागि खर्च भएको आर्थिक विवरण पनि सार्वजानिक गछौं ।’ जिल्लामा पछिल्लो समय समाजिक सञ्जाल मार्फत यस्तै थुप्रै कामहरु हुन थालेका छन् ।


