गोरखा समाचारदाता
असार २७ गते । शिक्षक सेवा आयोगले लिन लागेको परिक्षाका लागि फारम भर्नेको घुइँचो लागेको छ । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी ३ सय ७८ सिटका लागि मंगलबारसम्म झण्डै ४ हजारको आवेदन परेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।
लामो समयपछि शिक्षक सेवा आयोगको परिक्षा हुन लागेकाले परिक्षार्थीहरुको घुइँचो लागेको हो । सरकारले प्राथमिक तहका लागि अन्तिम पटक आवेदन खुलाएको बताएको छ ।
सोही कारण परी फारम भर्नेहरु बढेको हुन सक्ने कतिपयको भनाई छ । फारम भर्ने तौर तरिका बैज्ञानिक नहुँदा दुई दिन सम्म लाइन बस्नु पर्ने बाध्यता रहेको फारम भर्न आएकाहरुले बताएका छन् । गोरखामा धेरै कोटामा आवेदन माग भएपछि देशका विभिन्न ठाउँबाट परिक्षार्थीहरु फारम भर्न आएका छन् ।
मधेशी कोटामा तथा पिछडीएको क्षेत्रका कोटाहरुमा फारम भर्न टाढा-टाढा बाट परिक्षार्थी गोरखा आएका छन् । परिक्षाको फारम भर्ने मिति यहि ३० गते सकिने र केही दिन दोब्बर शुल्कमा फारम भर्न पाइने कार्यालयले जनाएको छ ।




















