नरेन्द्र ढकाल/गोरखा
असार २४ गते । असार मसान्तको समय सिमा सकिन केही दिन बाँकी रहँदा जिल्लाका ५० हजार भन्दा बढि भूकम्प पिडितले दोश्रो किस्ता लिएका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ७३ पिडितको खातामा दोश्रो किस्ता गएको हो । त्यसैगरी हालसम्म दोश्रा किस्ता लिनका लागि ५० हजार १५९ लाभग्राही योग्य भएका छन् ।
उनीहरुले पहिलो किस्ताको रकमले डिपिसी सम्मका काम सम्पन्न गरी दोश्रो किस्ताको रकम माग गरेका हुन् । यसैगरी ३१ हजार ९७१ भूकम्प पिडितले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरी तेश्रो किस्ता माग गरेका छन् । ती मध्ये ३१ हजार ३६२ लाभग्राहीको खातामा तेश्रो किस्ता बापतको रकम पठाईएको छ ।
६५ हजार ३७० लाभग्राही रहेको गोरखामा २८ हजार ९७३ घर निर्माण सम्पन्न भइसकेका छन भने ५२ हजार ४४८ घर निमार्णाधिन अबस्थामा छन् । अहिले ३ वटा स्थानीय तहको गुनासो संबोधन भएपछि केही लाभग्राही थपिएका हुन् ।
वर्खा लागिसकेकाले पुर्ननिर्माण काम भने लगभग रोकिएको छ । जिल्लाका अधिकाशं कच्ची सडकमा सवारी ठप्प भएपछि निर्माण सामाग्री ढुवानीको काम पनि रोकिएको हो । भूकम्प गएको तिन वर्ष पुगेपनि ५० प्रतिशत घर बन्न सकेका छैन । ६५ हजार ३७० लाभग्राही रहेको गोरखामा अहिले सम्म २८ हजार ९७३ घर निर्माण सम्पन्न भएका छन् ।
यो तथ्याङ्क हेर्दा जिल्लाका ३६ हजार ३९७ घर अझै बन्न बाँकी छ । यो तथ्याङ्क झण्डै २ तिहाइ हो । प्रवलीकरण अनुदानमा परेकाहरुले अहिले घर बनाएका छैन । बस्ती स्थानान्तरण गर्नुपर्ने मध्ये हाल सम्म केरौजाका ४१ घरको मात्र प्रक्रिया सुरु भएको छ भने लाप्राकमा एनआरएनएले बनाएको एकिकृत बस्ती निर्माणको काम पनि अझै सकिएको छैन् । गएको दशै अगावै सम्पन्न गर्ने भनिएको उक्त काम आउँदो दशै सम्म पनि नसकिने स्थानीयको गुनासो छ ।
भूमिहिन, सुकम्बासी, बालबालिका, एकलमहिला, वृद्धवृद्धा घरमुली भएका लाभग्राहीले पनि घरबनाउन सकेका छैनन् ।




















