गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर २ का १ सय १० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । गोरखा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर २ को कोखे आहालेमा शनिवारबाट सञ्चालनमा आएका शहरी आयुर्वेदिक स्वास्थ्यकेन्द्र उनीहरुले निशुल्क स्वास्थ्य जाँच गरी औषधी समेत लिएका हुन् ।
प्राकृतिक चिकित्सा तर्फ नगरबासीलाई आकृषित गराउने उदेश्यले स्थापना गरिएको उक्त केन्द्रको एक कार्यक्रमका बिच शनिवार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले नगरबासीलाई सर्वसुलब रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन लागिपरेको भन्दै प्राप्त सुविधाको सदुपयोग गर्न गोरखा नगरपालिका वडा नम्बर २ र आसपासका स्थानीयलाई आग्रह गरेका थिए ।
नेपालको संबिधानले आधारभुत तहको स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने भनेर किटान गरेकाले सोही अनुसार नगरपालिकाले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिहेको उनको भनाई छ । कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका मोहनबहादुर रानाले समेत मन्तव्य राखेका थिए । गोरखा नगरपालिका आयुर्वेद शाखाका प्रमुख जिवन कुमार श्रेष्ठ स्वास्थ्य परिक्षण गराएका थिए । अब देखि हरेक महिनाको २३ गते शिविर सञ्चालन गर्ने तयारी रहेको वडा अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।
यसैविच गोरखा नगरपालिका वडा नम्बर २ ले वडा भित्रका विभिन्न व्यक्तिहरुलाई समन गरेको छ । वडा भित्रका १० जेष्ठ नागरिक, १० जना अपाङ्गता भएका र १५ जना सुनौला हजार दिनका आमा र बञ्चालाई विभिन्न खालको प्रोत्साहन कार्यक्रम गरिएको वडा अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए । उनीहरुलाइ एक कार्यक्रमका विच गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी जेष्ठ सम्मान गरेकी हुन् ।


