गोरखा समाचारदाता
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रमको समिक्षा भएको छ । सन २०१६ जनवरी १ देखि २०१८ जुन अथार्त भूकम्प पछि हाल सम्म सञ्चालन भएका कार्यक्रमका बारेमा जिल्लाका सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्य कार्यक्रम गरिएको रेडक्रस जिल्ला शाखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिए ।
जिल्ला शाखा सभापती भगवानबाबु मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा भूकम्प प्रतिकार्य कार्यक्रम जिल्ला शिव सुवेदीले हाल सम्म गरेका कार्यक्रम बारे सहभागीलाई जानकारी गराएका थिए । खानेपानी सरफाई तथा स्वच्छता प्रर्वद्धन, आबास, स्वास्थ्य, जिविकोपार्जन, संस्थागत क्षमता बिकास गरी ५ वटा क्षेत्रमा रेडक्रशले कार्यक्रम सञ्चालन गरेको छ । बेल्जियम रेडक्रस, जर्मन रेडक्रश र नेदरल्याण्ड रेडक्रसको आर्थिक सहयोगमा साबिकको बारपाक, थालाजुङ, हर्मी, गाँखु, श्रीनाथकोट, जौवारी, बक्राङ, मनकामना र मिरकोटमा उक्त परियोजना लागु गरिएको थियो ।
जसअन्तर्गत ५१ वटा खानेपानी आयोजना निर्माणमा ३ करोड ३२ लाख ४८ हजार ४८५ रुपयाँ खर्च भएको जानकारी दिइएको छ । यसैगरी २ करोड ३१ लाख ७१ हजार ४०७ रुपयाँमा २७ वटा विद्यालयमा शौचालय निर्माण गरिएको भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक शिव सुवेदीले जानकारी दिए ।
सिंचाइ योजना, गोरेटो बाटो, तारजाली भर्ने जिविकोपार्जनका विभिन्न र्शीषकमा बजेट खर्च गरिएको रेडक्रसले बताएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, गैरसकारी सस्था महासंघका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठ, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा लगायतले मन्तव्य राखेका थिए ।




















