नरेन्द्र ढकाल/गोरखा
असार १२ गते । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ धुँवाकोटमा तामा खानी रहेको स्थानीयले दाबी गरेका छन् । सो क्षेत्रमा झण्डै ८० वर्ष अघि सम्म तामा निकालिएको तर पछि खानी अलपत्र परेको भन्दै आवश्यक अध्ययनको काम अगाडी बढाउनुपर्ने स्थानीय पदमनारायण श्रेष्ठले बताए । ‘हामी सानो थियौं बुबाहरुले यहीँको तामा झिकेर भाँडा बनाएको भन्नुहुन्थ्यो’ श्रेष्ठले भने ‘अहिले पनि ती भाँडाकुडा घरमा सुरक्षित छन ।’ करिब ७०÷८० वर्ष अघि तामा निकालिएको उक्त ठाउँमा अहिले पनि ठूला ओढारहरु छन् । सम्पन्न मानिसहरुले भाँडाकुडा बनाउन र घर छाउनका लागि त्यहाँ रहेको तामा झिक्ने गरेपनि पछि पहिरोको जोखिम बढेको भन्दै निकाल्न छोडेको त्यति बेलाका बुढापाकालाई उदृत गर्दै स्थानीयहरुले बताएका छन् ।
धेरै वर्ष अघि तामा खानी बन्द गरिएको सुनेका केही युवाहरुले तामा झिकिएको भनिएको ओडारमा भित्र पसेर प्रारम्भिक अध्ययन समेत गरेका छन् । ‘पहिले झिकिएको ठाउँ माटोले पुरिएको रहेछ, हामी ३/४ जना मिलेर खोतल्दै करिब १५ मिटर भित्र पुगेयौ’ सोही मध्येका एक सन्तोष भण्डारी भने । त्यहाँ निलो रङ्गका छुट्टै किसिमको चट्टान रहेको उनीहरुले बताएका छन् । त्यहाँको ढुङ्गामा रहेको तामालाई प्रशोधन गरेर प्रयोग गरिएको उनीहरुको आशंका छ ।
उक्त तामा खानीको प्रचारपसारको लागि वडा कार्यलयले विशेष कार्यक्रम गर्ने भएको छ । सोका लागि प्रदेश सरकार र केन्द्र सरकार सँग योजना माग गर्ने समेत तयारी रहेको वडा अध्यक्ष शंकर कंडेल बताए । ‘यहाँको तामा खानीको सम्भाव्यता अध्ययनका लागि हामीले पहल सुरु गरेका छौ’ उनले भने ‘बृहत योजना नै बनाएर अगाडी बढ्ने हाम्रो योजना छ ।’ त्यहाँ तामा रहेको स्थानीय रुपमा प्रमाणीत भएपनि कति प्रतिशत छ भन्ने एकिन गर्न खानी तथा भुगर्भ विभागसँग मिलेर आवश्यक अनुसन्धान गर्ने उनले बताए । वडा नम्बर ८ को खानीगाउँ जगंलमा रहेको खानी सम्म सडक पुरयाउने गरी आगामी वडा कार्यालयले योजना निर्माण गरेको अध्यक्ष कंडेलको भनाई छ ।
शनिवार स्थानीय जनप्रतिनिधि, सो क्षेत्रका स्थानीयहरु र गोरखा र तनहुँका पत्रकार एवं सञ्चारकर्मीहरुको एक टोलीले उक्त क्षेत्रको स्थलगत रुपमा अवलोकन समेत गरेको छ ।


