गोरखा समाचारदाता
बुढीगण्डकी जलविद्युत आयोजना अन्तरगत पछिल्लो चरणमा फुजेलका ३ सय ८६ जना प्रभावितको खातामा मुआब्जाको रकम निकासा भएको छ । गत हप्ता ४ सय २२ जनाका लागि आयोजनाको कार्यालयले राष्ट्रिय बाणिज्य बैंकको खातामा पठाएको रकममध्ये ३ सय ८६ जनाले मुआब्जा बुझेका हुन् । ‘हाम्रो खातामा जेठ ३० रकम आएको हो, अहिलेसम्म हामीले लगभग ९५ प्रतिशत जति बाडिसक्यौ’ बैंकका जिल्ला प्रवन्धक महेन्द्र प्रसाद तिमिल्सिनाले भने ।
जेठ ३० गते खातामा रकम आएको भएपनि केही प्राविधिक जटिलताका कारण केही दिन मुआब्जा वितरण गर्न सकेको थिएन । तर जटिलता हल भएपछि ३ दिन मा नै सबैको खातामा रकम निकासा भएको बैंकको भनाई छ । ‘सुरुमा हामीलाई केही समस्या भयो, एकमुष्ठमा प्रभावितले पाउनुपर्ने भन्दा १० लाख जति कम रकम आएको रहेछ, त्यसपछि हामीसंग दर्ता नम्बर पनि भएन’ जिल्ला प्रवन्धक तिमिल्सिनाले भने ‘यो पल्ट त हामीलाई आयोजनाको कार्यालयले स्टेटमेण्ट समेत पठाएन, सबै विवरण हामीलाई नपठाएकाले धेरै प्रभावितले दुख पाएका छन् ।’
यो पटक बाणिज्यले जिम्मा पाएको संख्यामा अब ३६ जनाले मात्रै रकम लिन बाँकी रहेको छ । उनिहरु बैंकको सम्पर्कमा नआएकाले खातामा रकम निकासा नभएको उनको भनाई छ । ‘अब केहीको खातामा रकम पठाउन बाँकी छ, उनिहरु सम्पर्कमा आएका छैनन्, सायद केही प्रकृया नपुगेकाले होला, कोही बिदेशमा भएकाहरु प्नि छन्, उनिहरु पनि आउने बित्तिकै पाउछन्’ तिमिल्सिनाले भने । बृद्ध, अशक्तहरुका लागि घर–घर मै पुगेर रकम वितरण गरेको बैंकले जनाएको छ । यस अघि सम्पूर्ण प्रभावितलाई एकल रुपमा मुआब्जा वितरण गर्दै आएको बाणिज्यले यो पटक भने फुजेलका केही वडाहरुको मात्रै जिम्मा पाएको थियो ।
यता बुंकोट र दर्बुङका प्रभावितका लागि मुआब्जाको रकम वितरण गर्ने जिम्मा पाएको प्रभु बैंकले भने केन्द्रिय कार्यालयको आदेश विना सुचना दिन नमिल्ने बताएको छ । बेनिघाट स्थित शाखा कार्यालयका प्रमुख सन्दिप कुमार तामाङले गोरखा समाचारसंग टेलिफोनमा कुरा गर्दै सुचना दिन आफुलाई अधिकार नभएको बताएका हुन् । ‘कतिको खातामा गयो भनेर हामीले सुचना दिन मिल्दैन, यो ग्राहकको गोपनियताको कुरा पनि जोडिएको हुन्छ, त्यसमाथी हामीलाई शाखामा बसेर बोल्ने अधिकार हुदैन, माथीको आदेश चाहिन्छ’ तामाङले भने ।
आयोजना कार्यालयले १ अर्ब ३५ करोड रकम प्रभु बैंकको खातामा जेठ ३० गते नै पठाएको थियो । बिना प्रतिस्पर्धा मुआब्जाको रकम वितरण गर्ने जिम्मा पाएको प्रभुले प्रभावितको खातामा रकम निकासा गर्न ढिला सुस्ती र प्रकृया लामो गरेको भन्दै स्थानीयले असन्तुष्टी समेत पोखेका थिए ।
गोरखा र धादिङ्गको सिमानामा बन्न लागेको १२ सय मेघा वाटको बुढिगण्डकी आयोजनाको लागि मुआब्जा बितरण प्रयोजनाममा सरकारले ५ अर्ब रकम गोरखाको लागि छुट्टाएको छ । चालु आर्थिक बर्षमा प्राप्त उत्त रकमको झण्डै ८० प्रतिशत भन्दा बढी वितरण भई सकेको आयोजना कार्यालयले जानकारी दिएको छ ।


