मोहसिन अलि मियाँ/गोरखा
असार ६ गते । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका गोरखाका १ सय ७३ जनाले अझैसम्म पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको वर्ष दिन बितिसक्दा समेत निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । हामीले पटक पटक ताकेता गरेका हौ, तर अहिलेसम्म पनि १ सय ७३ जनाले खर्च विवरण बुझाउन आनाकानी गर्नुभएको छ’ कार्यालयका सुचना अधिकारी कमलापति अधिकारीले भने ‘हामीले पार्टी प्रमुखलाई समेत जानकारी गराएका हौ, कार्यालयमा सुचना समेत टाँस गरेका छौ ।’
स्थानीय निर्वाचनमा जिल्लाभर एक हजार ८ सय ८९ जना उम्मेदवार बनेका थिए । त्यसमध्ये हालसम्म १ हजार ७ सय १६ ले मात्रै निर्वाचन खर्च बुझाएको कार्यालयको भनाई छ । अन्तिम परिणाम घोषणा भएको दिनदेखि ३५ दिन भित्र सम्पूर्ण खर्च विवरण जिल्ला स्थित निर्वाचन कार्यालयमा बुझाउने प्रावधान छ ।
तर पनि निर्वाचन आयोगकै नियम मिचेर १३ महिना बित्दा समेत उनिहरु खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन खर्च विवरण नबुझाउनेमा निर्वार्चित गाँउपालिका प्रमुख देखि वडा सदस्य समेत रहेको कार्यालयको भनाई छ । ‘खर्च बुझाउनुपर्ने त ३५ दिन भित्रै हो, तर बुझाएनन्, हामीले पटकपटक भन्यौ, तै पनि अटेरी गरे, हामीले आयोगमा सम्पूर्ण विवरण पठाएका छौ, अब आयोगले नै कारबाही अघि बढाउला’ कार्यालयका अधिकारी भन्छन् ‘खर्च विवरण चुनाव हार्ने मात्रै छैनन् जितेर गाँउपालिका बन्ने समेत छन्’ ।
भिमसेन थापा गाँउपालिका प्रमुख इश्वर पाण्डे, सिरानचोक गाँउपालिका प्रमुख राजु गुरुङ समेतले पनि आजसम्म खर्च विवरण पेश नगरेको कार्यालयको भनाई छ । त्यस्तै उपाध्यक्षमा विजयी भिमसेन कै बिनु वाग्ले र सिरानचोककी रिता देवकोटाले समेत निर्वाचन खर्च विवरण बुझाएका छैनन् । उनिहरु सबै नेपाली काँग्रेसबाट उम्म्ेदवार बनेर निर्वाचित भएका थिए । यता उनिहरु भने आफुहरुले समयसिमा भित्रै खर्च विवरण बुझाउन पार्टीलाई जिम्मा दिएको दाबी गर्छन् । ‘हामीले तोकिएकै मितीमा खर्च विवरण गर्न पार्टीलाई जिम्मा दिएका हौ, बैठक बसेर पार्टीले निर्णय गरेको छ’ सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङले भने ।
भिमसेन गाँउपालिकाका अध्यक्ष इश्वर पाण्डे समेत समयसिमा भित्रै खर्च विवरण पेश भएको दावी गर्छन् । ‘किन नबुझाउने, हामीले बुझाएका छौ, सबै विवरण भरेर पार्टीलाई बुझाएका छौ, जिल्लाभरीकै पार्टीले एकमुष्ठ बुझाउने भनेर निर्णय भएको हो’ उनि भने ‘हामीसंग बुझाएको प्रमाण छ, निर्वाचन कार्यालयको तथ्यांकमा चढाउन मिस्टेक भएको हुनुपर्छ ।’
त्यस्तै गाँउपालिका अध्यक्षमा उम्मेदवार बनेर पराजित बनेका चुनन्ब्री गाँउपालिकामा राप्रपाका बिरमान गुरुङ, सिरानचोकमा गुन्जबहादुर भुजेल, भिमसेन गाँउपालिकामा नेपाल परिवार दलका कोपिला कुँवर, सिरानचोकका हरिमाया पोखरेल रहेका छन् । त्यस्तै अध्यक्षमा चुनाव लडेका शहिद लखनमा स्वतन्त्र उम्मेदवार देव बहादुर थापा, सुलिकोटमा परिवारदलका रेशम देवकोटा छन् ।
जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी कमलापति अधिकारीका अनुसार निर्वाचन खर्च विवरण नबुझाउनेमा सबैभन्दा बढि सिरानचोक गाँउपालिकाका ४४ जना रहेका छन् । त्यस्तै गोरखा नगरपालिकाका ३५ जना छन्, जहाँ १ सय ६४ उम्मेदवार बनेका थिए । त्यस्तै पालुंटार नगरपालिकामा ३३ जना रहेका छन् । पालुंटारमा १ सय ४ उम्मेदवार थिए । अजिरकोट गाँउपालिकामा २, आरुघाट गाँउपालिकामा ४, गण्डकी गाँउपालिकामा ३ जनाले खर्च विवरण पेश नगरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चुनावी खर्च विवरण पेश नगर्नेमा चुननुब्री गाँउपालिकाबाट उम्मेदवार बनेका ५, धार्चे गाँउपालिकाका २, भिमसेन गाँउपालिकाका १२, शहिद लखन गाँउपालिकाका १७ र सुलिकोट गाँउपालिकाका १६ जना रहेका छन् । उनिहरु बिभिन्न राजनितिक दलबाट उम्मेदवार बनेका थिए । जिल्लाभर स्थानीय तहमा उम्मेदवार बनेकाहरु मध्ये निर्वाचन आयोगले तोकिएको म्यादभित्र ९ सय ३८ जनाले र म्याद नाघेपछि बुझाउने ७ सय ७८ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।


