गोरखा समाचारदाता
जिल्ला समन्वय समितिले अनुगमनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सुरुमा स्वास्थ्य क्षेत्रबाट अनुगनको कार्य प्रारम्भ गर्ने र शिक्षा, स्वास्थ भौतिक पुर्वाधार लगायतका कुराहरुको पनि प्रभावकारी अनुगमन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए । ‘पहिले के काम गर्ने भन्ने थुप्रै अन्यौलता थियो, अब स्पष्ट निर्देशनहरु आउन थालेका छन्, सोही अनुसार अनुगमनको कामलाई जोड दिन लागेका हौं’ उनले भने । पहिलो चरणमा स्वास्थ्य सेवा विभाग र मन्त्रालयको परिपत्र अनुसार जिससले अनुगमनको काम अगाडी बढाउन लागेको हो ।
जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएका बसेको बैठकले जिल्लाका सबै स्वास्थ्य सस्थाको काम, मौजाद औषधी, खरिद बिक्रि प्रक्रिया लगायतका बारेमा पनि अनुगमन गर्ने छ । ‘हामी स्वास्थ्य सस्थाका सबै कुरा हेर्छौं, माथिबाट विवरण नै मागेको छ’ जिससका प्रवक्ता धितालले भने ।
अनुगमनका लागि उपप्रमुख जनुका अधिकारीको संयोजकत्वमा रहको समितिलाई परिचालन गर्ने समेत निर्णय भएको छ । स्वास्थ्य सँगै क्रमश शिक्षा र पुर्वाधार बिकासको कामको अनुगमन गर्ने तयारी छ । मंगलबार बसेको जिससको नियमित बैठकले आगामी साउन २० गते भित्र जिल्ला सभा गर्ने समेत निर्णय गरेको छ ।




















