नरेन्द्र ढकाल/गोरखा
असार ३ गते । स्थानीय तहका जनप्रतिनिधिलाई यतिबेला बजेट निर्माणको चटारो छ । आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम बनाउने र सोही अनुरुपको योजना निर्माण गर्नमा उनीहरुलाई भ्याइनभ्याई छ । दुई नगरपालिका र ९ गाउँपालिका सहित ११ वटा स्थानीय तह रहेको गोरखामा आगामी आथिर्क वर्षको निति तथा कार्यक्रम र बजेट निर्माणका लागि अहिले अधिकाशं स्थानीय तह, विज्ञ सम्मेलन गर्ने, बजेट निर्माण सम्बन्धी छलफल तथा गोष्ठी गर्ने लगायतका काममा व्यस्त छन् ।
जिल्लाका ९४ वडाहरुमा धमाधम योजना निर्माण भैरहेका छन । ‘आज (आइतबार) सम्म वडाबाट योजना प्राथमिकिकरण गरेर नगरपालिकामा ल्याउने कार्य सूची छ, साथीहरु काममा व्यस्त हुनुहुन्छ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने ‘टोल बस्तीबाट छानिएर आएका योजना अब विषयगत समितिमा छलफल हुन्छ ।’ ५ गते बाट विषयगत समितिको छलफल गरी १० गते सम्म, नभ्याएमा १५ गते सम्म बजेट ल्याउने नगरपालिकाको योजना छ ।
‘प्रदेश सरकारको बजेट हिजो मात्र आएको छ, हाम्रो नगरपालिकामा के कति कार्यक्रम प¥यो भन्ने पनि यंकिन भएको छैन्, सबै कुरा थाहा भएपछि मात्र हामी बजेट ल्याउछौ ।’ उता शहिदलखन गाउँपालिकाले भने १० गते निति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । ‘बस्ती स्तरका योजना छनोट भइसकेका छन्, विषयगत समितिहरुको बैठक पनि सुरु भएको छ, १० गते सम्म निति तथा कार्यक्रम सार्वजानिक गर्ने हाम्रो योजना छ’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने ।
उक्त गाउँपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भइसकेको छ । आइतबार बजेटको सिमा निर्धारण समितिको बैठक बस्ने र सोमबार गाउँकार्यपालिका को बैठक बसी त्यसलाई अन्तिम रुप दिने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । यसैगरी सिरानचोक गाउँपालिकामा भने केही समय पछि बजेट ल्याउने तयारी गरेको छ । बस्ती स्तरका छलफल सकेको सिरानचोकले आगामी ८ गते सिरानचोकका विज्ञहरु, सरोकारवालाहरुको उपस्थितीमा गाउँकार्यपालिका सदस्यहरु वडा अध्यक्षहरुको उपस्थितीमा गोष्ठी गर्ने तयारी गरेको छ । ‘गोष्ठी सक्ने बित्तिकै वडा अध्यक्ष ज्यूहरु आ–आफ्नो वडामा जानुहुन्छ र योजना छनौट गरेर ल्याउनु हुनेछ’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने । १५÷१६ गते सम्म काम सकेर बजेट ल्याउने सिरानचोकको तयारी छ ।
उता गण्डकी गाउँपालिकाले भने २०÷२२ गते अगाडी बजेट नल्याउने बताएको छ । गाउँपालिका अध्यक्ष होमबहादुर रानाले गोरखा समाचारसँग कुराकानी गर्दै भने, ‘केन्द्र बाट परेका योजनाहरुको यंकिन गर्दैछौं, प्रदेशले भर्खरै बजेट ल्याएको छ, सबै अध्ययन गरेर मात्र हाम्रो बजेट आउँछ ।’ हतार गरेर बजेट निर्माण गर्दा डुप्लिकेसन हुन सक्ने भएकाले ढिला गरेर भएपनि राम्रो बजेट ल्याउने उनको तर्क छ । गण्डकी गाउँपालिकाले पनि बस्ती स्तरको योजना छनौट भने सकेको छ ।
अहिले योजना प्राथमिकिकरणको काम भइरहेको छ । त्यस्तै आरुघाट गाउँपालिकामा बजेट निर्माणको चटारो छ । ‘आजबाट विषयगत समितिको छलफल सुरु हुन्छ, गाउँबस्ती बाट आएका योजनाका बारेमा साथीहरुले छलफल गरेर कार्यपालिकामा पेश गर्नुहुनेछ’ गाउँपालिका अध्यक्ष पुर्ण बहादुर दाहालले भने । आरुघाट गाउँपालिकाले बजेट निर्माणलाई सघाउ पुरयाउने उदेश्यले ४ र ५ गते योजना निर्माण बजेट विनियोजन सम्बन्धी छलफल गर्ने कार्यतालिका छ । उक्त छलफलमा वडा अध्यक्ष सहित गाउँकार्यपालिकाको सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत लगायतको सहभागीता रहने गाउँपालिका अध्यक्ष दाहालले बताए ।
जिल्लाको पालुङटार नगरपालिका केही दिन अघि सम्पन्न गरेको विज्ञ सम्मेलनका आधारमा बजेट निर्माण प्रक्रियामा जुटेको छ । यसैगरी अजिरकोट, बारपाक सुलिकोट, भिमसेन थापा र चुमनुब्री गाउँपालिकाले यसै गरी बजेट निर्माणको तयारी गरिरहेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम र बजेट बनाउने चटारो छ । स्थानीय तह निर्वाचन भएको १ वर्ष पुगे पनि उनीहरुले आफ्नो आबधिक योजना निर्माण गर्न सकेका छैनन् । जसले गर्दा बजेट निर्माण गर्न प्रतिनिधिलाई कठिन भएको छ ।


