मोहसिन अलि मियाँ/गोरखा
गोरखा जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायले महान पर्व इद–उल–फित्र मनाएका छन् । सदा झै यस वर्ष पनि अरबिक क्यालेण्डरको नबौ महिना रमजान भरि सक्षम मुस्लिमहरुले एक महिने रोजा (ब्रत) सफलता पूर्वक सम्पन्न गरेको खुसीयाली मा हर्षोउल्लासका साथ यो पर्व मनाएका हुन् ।
इश्लाम धर्मको पाँच आधार स्तम्भ मध्ये चौथो आधार स्तम्भमा पर्ने रमजानको रोजा र पवित्र धर्म ग्रन्थ कुरान सरिफ यसै महिनामा अबतरित भएकाले पनि यो महिनाको महत्व झनै बढेको हो । रमजानको पहिलो तारिखबाट ब्रत सुरु हुने र सावाल महिनाको पहिलो तारिखका दिनलाई ठूलो उत्सबका रुपमा इद लाई मनाइने गोरखा नगरपालिका २ का हफिज अस्गर अलिले जानकारी दिएका छन् ।
यहि महिनामा आफुले एक वर्ष सम्म कमाएको सम्पत्तीको केहि प्रतिशत धार्मिक कर (जकात) अनिवार्य तिर्नु पर्ने हुन्छ । साडे ५२ तोला चाँदी, साडे ७ तोला सुन वा सो सरह सम्पत्ती भएको प्रत्येकले आफ्नो कुल सम्पत्तीको २.५ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने भन्दै हाजी नबि बकस मियाँ भन्छन् “अनाथ, गरिब र दुखीहरुले सम्पत्ती कै कारण बिहान बेलुका खान र आफ्ना आबश्यकता पूर्ति गर्न बाट र धनिहरुले झै चाड, पर्व मनाउनबाट बञ्चित नहोस भनेर प्रत्येक मुस्लिमहरुले यसरी प्रत्येक बर्ष अनिवार्य धार्मिक कर तिर्नु पर्ने नियम पवित्र धर्मग्रन्थ कुरानमा उल्लेख छ ।”
यस दिन बिहान सबेरै देखी मुस्लिम बस्तिहरुमा निक्कै चहलपहल हुने गर्दछन् । सबेरै नुहाउने, नयाँ कपडा लगाउने, आफ्ना आफन्तहरुलाई दान दक्षिणा दिने, सबै मस्जिद वा इदगाहमा भेला भई इदको नमाज पढ्ने, अङकमाल गर्ने, अल्लाहको इबादत गर्ने, बिशेष प्रकारका खानाका प्रकारहरु बनाइ खाने, सामुहिक भोज गर्ने लगायतका क्रियाकलाप गरी यो पर्व मनाइने गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
गोरखाको भिमसेन गाँउपालिका, आरुघाट गाँउपालिका, गण्डकी गाँउपालिका, सिराञ्चोक गाँउपालिका, पालुंटार नगरपालिका, गोरखा नगरपालिकामा लगायतका क्षेत्रहरुमा मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको छ ।




















