गोरखा समाचारदाता
गोरखाका विभिन्न ठाउँका १५ सय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गुडनेवर्स् इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रद्धारा सञ्चालित गोरखा सामुदायिक परियोजना जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत १५ सय ३४ जना प्रायोजित विद्यार्थीहरु लाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको पद्धती बिकास सेवा केन्द्रका शिक्षा अधिकृत भुपेन्द्र पोखरेलले जानकारी दिए ।
यसैगरी गरिव, विपन्न, तथा पिछडिएका समुदायका बालबालिकालाई कापी, सिसाकलम, इरेजर, कटर, रिफिल लगायतका शैक्षिक समाग्रीका साथै झोला, स्वीटर सर्ट, पाइन्ट वा स्र्कट जुत्ता मोजा गरी ४५ लाख ३३ हजार ९३२ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको उनले बताए ।
गुणस्तरीय शिक्षाका लागि सन् २०१६ देखि काम गर्दै आएको परियोजनाले बालबालिकालाई विद्यालयमा आकर्षित गर्न, विद्यालयमा टिकाउन, शैक्षिक सामग्रीको अभावमा विद्यालय छाड्ने दर घटाउन र विद्यार्थीको सिकाई प्रतिशत वृद्धि गर्ने लक्ष्यका साथ गोरखा नगरपालिकाको वडा ४, धार्चे गाउपालिकाको वडा नं ७ र आरुघाट गाँउपालिका वडा नं १ देखि ६ सम्मका गरी जम्मा ४१ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि नगरपालिका र गाँउपालिकाको समन्वय तथा विद्यालय र सामुदायिक विकास समितको सहयोगमा वितरण गरिएको हो ।




















