नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ३१ गते । जिल्लाका अधिकांश किराना पसलमा बजेट भाषण भएको भोलिपल्ट बाटै उपभोग्य सामान नयाँ मुल्य कायम भएको छ । मौका छोपी व्यापारीले मुल्यवृद्धि गरेको गुनासो आएपछि जिल्ला बजार अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा अधिकाशं दैनिक उपभोग्य सामाग्रीको मुल्य बढाइएको भेटिएको हो । ‘कुनै पसलमा मुल्य सूची छैन्, मौखिक रुपमा सोध्दा पसल नै पिच्छे भाउ फरक छ’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले भने । बजेट भाषणसँगै दैनिक उपभोग्य सामाग्रीको मुल्य एक्कासी बढेको भन्दै जिल्ला अनुगमन समितिले गरेको आकस्मिक अनुगनका क्रममा मूल्य सूची नै नराख्ने गरेकोले बढेको मुल्य बारे जानकारी लिन भने समस्या भएको छ ।
‘पन्ध्र गते बजेट भाषण भयो, १६ गते बाटै मुल्य बढाइएको रहेछ, केही पसलको खरिद बिल हेर्दा माथि बाट भाउ बढेर आएको पनि देखियो’ उनले भने । नयाँ आर्थिक वर्षका लागि सरकारले अन्तरशुल्क कर बढाएपछि थोक तथा खुद्रा दुबै बिक्रेताहरुले स्टक सामानको समेत भाउ बढाएका छन् । ‘थोक तथा खुद्रा दुबैमा बदमाशी देखिन्छ, उहाँहरुले आफूसँग भएको स्टक सामान सबै भाउ बढाउनुभएको छ ’ भण्डारीले भने । साउन १ गते बाट नयाँ मुल्य लागु हुने भएपनि अधिकाशं व्यापारीहरुले मुल्य सूची समेत नराखी पुरानै मुल्यमा धमाधम सामान बेचेर उपभोक्ताहरुलाई ठगिरहेका छन् ।
बुधबार साँझ ५ः३० बजे पछि ४ समूह बनाएर गरिएको अनुगमनका क्रममा जिल्लाका क्रममा सदरमुकामका ३५ भन्दा बढि दैनिक उपभोग्य सामाग्रीका पसलहरुमा चेकजाँच गरिएको थियो । ती पसलहरुमा पापड, कोसेली नामको खाने तले, घ्यू, दालमोठ, तिहारको बेला प्रयोग गर्ने भाइमसला लगायतका सामानहरु म्याद गुजे्रका एवं सडेको अबस्थामा भेटिएको छ । ‘केही समान काम नलाग्ने गरी सडेको भेटौं, ती सामानलाई जफत गरी आजै नष्ट समेत गरेका छौ’ जिल्ला प्रशासनका सुचना अधिकारी भण्डारीले भने ।
अनुगमन समितिमा जिल्ला प्रशासन, प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति, गोरखा उद्योग वाणिज्य संघ, गोरखा नगरपालिका लगायतको सहभागीता रहेको थियो । जिल्ला प्रशासनले पटक÷पटक अनुगमन गर्दा पनि व्यापारीहरु उपभोक्ता मैत्री नभएको आरोप लाग्ने गरेको छ । यता व्यापारीहरुले उक्त कुरा आफ्नो बाध्यता भएको बताएका छन् । जिल्लामा ठुला गोदाम नभएको र बाहिरबाट आउँदा नै सामानको मुल्य बढेर आएकोले समस्या भएको उद्योग वाणिज्य संघका सदस्य समेत रहेका व्यापारी मानकाजी श्रेष्ठले बताएका छन् । ‘माथिबाटै बढेर आएको हो, यहाँ हामिले बढाएका हैनौं, यो हाम्रो बाध्यता हो’ अनुगमनका क्रममा उनले भने ।
यता उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठले भने मुल्य वृद्धि भएको गुनासो आफू कहाँ पनि आएको भन्दै प्रशासनले बजार अनुगमन गरेर राम्रो काम गरेको प्रतिक्रिया दिएका छन्,‘मुल्य सूची नराख्नु व्यापारी साथीहरुको पनि गल्ती छ, आफ्नो निश्चित नाफा राख्नु स्वभाविक भएपनि मौका छोप्ने काम गर्नुहुँदैन ।’
पछिल्लो समय जिल्लामा बजार अनुगमन फितलो बन्दै गएको भनि आलोचना हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला बजार अनुगमन समिति रहने यस अघिको प्रावधान रहेपनि अहिले बजार अनुगमन नियमनको जिम्मा स्थानीय तहको काँधमा गएको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी नभएको लामो समय भइसकेकाले पनि अनुगन कार्य फितलो भएको हो ।
‘केही प्राविधिक समस्याहरु छन्, अहिले स्थानीय तहमा यो जिम्मेवारी गइसकेको छ’ जिल्ला प्रशासनका सूचना अधिकारी भण्डारीले भने ‘तर पनि हामी सम्वेदनशिल छौं, सिडियो सापले निर्देशन दिइसक्नुभएको छ, गलत गर्नेहरु कारवाहीको भागिदार हुनेछ ।’ आफूले प्रयोग गर्ने दैनिक उपभोग्य सामाग्रीको बारेमा जानकारी राख्ने, मुल्य सूची,उत्पादन मिति, प्रयोग मिति लगायतका कुराहरुमा ख्याल राखेर केही बदमाशप् भेटिएमा सिधै खबर गर्न प्रशासनले आग्रह गरेको छ ।




















