गोरखा समाचारदाता
धार्चे गाउँको माछाखोला निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । युनिसेफको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका विच धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ उद्घाटन गरेका हुन् । ‘भवन नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न निकै समस्या भएको थियो, अब सहज हुने छ भन्ने मेरो विश्वास छ’ अध्यक्ष गुरुङले भने । ५७ लाख लागतमा निर्माण भएको ८ कोठे भवन र अपाङ्गमैत्री शौचालय युनिसेफले स्थानीय तहलाई हस्तान्तरण समेत गरेको छ ।
उक्त स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय सुमन गुरुङ, एक्ले कान्छा कुलमायाँ गुरुङ १४ आना ३ पैसा २ जग्गा आधा सस्तो मुल्यमा उपलब्ध गराएका थिए । ‘हामीसँग जग्गा थिएन, उहाँहरुले १४ लाख पर्ने जग्गा साढे ६ लाखमा दिनुभयो, त्यो रकम पनि अन्य सहयोगीदाताहरुले सहयोग गर्नुभयो’ अध्यक्ष गुरुङले भने । उक्त जग्गा खरिदका लागि आवश्यक ६ लाख ५० हजार रकम मध्ये स्थानीय व्यापारी विषबहादुर गुरुङ (बिस), ३ लाख ५० हजार र स्थानीय बुढीगण्डकी आमा समूह ३ लाख रुपयाँ सहयोग गरेका हुन् ।
‘समुदायको सहयोगले जग्गा नभएको ठाउँमा पनि सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ, यसले यहाँका जनतालाई ठूलो लाभ पुग्ने छ’ अध्यक्ष गुरुङले भने । वडा अध्यक्ष तुल बहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका प्रमुख गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युनिसेफका इन्जिनियर उद्धव पौडेल, धार्चे गाउँपालिकाका स्वास्थ्य प्रमुख दिल प्रसाद गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यलयका नानीबाबु दानी लगायतले मन्तव्य राखेका थिए ।
यसैविच धार्चे गाउँपालिका माछाखोलामा सुरक्षित सुत्केरी गराउनेहरुलाई प्रोत्साहन स्वरुप १ हजार रुपयाँ थप दिने सुरु गरिएको छ । भर्खरै वर्थिङ सेन्टरमा बच्चा जन्माएकी स्थानिय कोपिला बिकलाई १ हजार प्रोत्साहन रकम र परिवार नियोजन समेत गरेको भन्दै गाउँपालिका अध्यक्षले व्यक्तिगत रुपमा ५०० रुपयाँ समेत थप गरी उनलाई दिएका हुन् । यस आर्थिक वर्षको हाल सम्म उक्त त्यहाँको वर्थिङ सेन्टरमा ३५ जनाले सुत्केरी गराएका छन् ।
यसैविच युनिसेफ सक्रियतामा धार्चेमा संक्रमण रोकथाम अभिमुखिकरण तालिम बाट सुरु भएको छ ।


