मोहसिन अलि मियाँ/गोरखा
गोरखालाई सफा र हरियाली बनाऔ भन्दै रोट्ररयाक्ट क्लब अफ गोरखाले हस्ताक्षर संकलन गरेको छ । रोट्ररयाक्ट सप्ताह अन्तरगत क्लबले दोस्रो दिन ‘क्लिन गोरखा ग्रिन गोरखा’ भन्ने नाराका साथ हरमटारीचोकमा आयोजना गरेको हस्ताक्षर संकलन अभियानमा ५ सय २९ जना सहभागी भएको इभेन्ट संयोजक निरञ्जन कट्टेलले जानकारी दिएका छन् ।
अभियानको एक कार्यक्रमका बिच सोमबार बिहान गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले शुभारम्भ गरेका हुन् । क्लबका अध्यक्ष बुद्धि जोगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले नगरलाई वाताबरणमैत्री बनाउन नगरपालिकाले थालेको अभियानमा क्लबको यस कार्यले थप उर्जा थपेको बताएका छन् । ‘हामीले नगरलाई वाताबरणमैत्री बनाउने गरि काम सुरु गरिसकेका छौ, आज युवाहरुले थालेको यो अभियानले मलाई थप उर्जा मिलेको महशुस भएको छ’ नगरप्रमुख पन्तले भने ।
उद्घाटन कार्यक्रममा रोट्ररयाक्ट डिष्ट्रिक्ट ३२९२ का सहायक प्रशिक्षक सुरज श्रेष्ठ, रोट्ररयाक्ट क्लब अफ गोरखाका संस्थापक अध्यक्ष अजितरवण खनाल, रोटरी क्लब अफ गोरखाका सदस्य सुरेन्द्र कुँवर, रोट्ररयाक्ट क्लब अफ बज्र मनाशलुका अध्यक्ष सानुकाजी श्रेष्ठ, गोरखा जेसिजका अध्यक्ष उमेश गुरुङ, क्लबका पूर्व अध्यक्षहरु सुजन थापा, सुवास कुवँर लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय स्तरमा रोट्ररयाक्ट स्थापना भएको ५० औं बर्ष पुगेको सन्दर्भमा क्लबले सुरु गरेको रोट्ररयाक्ट सप्ताह अन्तरगत पहिलो दिन भिमसेन थापा गाँउपालिका ७ स्थित सुन्दर आधारभुत विद्यालयलाई रोट्ररयाक्ट क्लब अफ पाटन साउथको सहकार्यमा एक ल्यापटप, प्रोजेक्टर तथा स्टेशनरीका सामाग्रीहरु सहयोग गरेको थियो ।


