मोहसिन अलि मियाँ/गोरखा
होली पर्व गोरखामा धुमधामका साथ मनाइएको छ । असत्य माथी सत्यको जितको प्रतिकका रुपमा मनाइने होली पर्व जिल्लाभर खुसियालीका साथ मनाइएको हो । होलीकै अवसरमा जिल्लाका बिभिन्न संघसंस्थाले विबिध कार्यक्रम समेत सम्पन्न गरेका छन् ।
केहि बर्षदेखि गोरखा लगायतका पहाडी जिल्लाहरुमा समेत धुमधामका मनाइने फाल्गुपूर्णिमाका अवसरमा मानवसेवा आश्रमले आश्रममा रहेका अनाथ बालबालिकाहरुसंग रंग दलेर शुभकामना साटासाट गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समेत सहभागि रहेका थिए । त्यस्तै गोरखा उद्योग बाणिज्यसंघले होलीका दिन बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
गोरखा जेसिज गोरखाले शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एक अर्काले रंग दलेर फाल्गुपूर्णिमा पर्व मनाइएको छ ।
होली कै अवसरमा रोट्र¥याक्ट क्लब अफ गोरखाले छेपेटरमा बनभोज सम्पन्न गरेको छ । त्यस्तै मल्टिट्यालेण्ट ग्रुपले होलीलाई संगितमय बनाएको छ । सदरमुकामको रानीपोखरीमा आयोजना गरिएको कार्यक्रममा गोर्खाली युवाहरुले कन्सर्टका बिच रंगहरुको मज्जा लिएका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ गोरखा, ढुवानी ब्यवसायी संघ लगायतले समेत होली पर्वलाई धुमधामले मनाएका छन् ।
होली पर्वकै अवसर पारेर बिरेन्चोक स्थित महालक्ष्मी मन्दिरको उद्घाटन गरिएको छ । स्थानीय शिव आलेको ब्यक्तिगत लगानीमा निर्माण भएको सो मन्दिर उद्घाटन कार्यक्रममा विभिन्न साँगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । बिभिन्न संघसंस्था तथा ब्यक्तिगत रुपमा समुह बनाएर स्वत स्फुर्त रुपमा होली पर्वलाई जिल्लामा धुमधामका साथ मनाइएको छ ।
गत बर्षहरुमा झै होलीका नाममा हुने उश्रृंखल गतिबिधिहरुलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षाकर्मी परिचालन गरेपनि खासै घटना भने नघटेको एसपी प्रकाश अधिकारीको भनाई छ । जिल्लामा होलीका दिन प्रहरीलाई दुरब्यवहार गरेको भन्दै प्रहरी चौकी मजुवादेउरालीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
गोरखा आँबुखैरेनी सडकमा पर्ने ५ किलोबाट मोटरसाइकलमा सवार तिनजना मध्ये एक जनाले प्रहरीलाई दुरब्यवहार गरेको प्रहरीको भनाई छ । होलीका अवसरमा सरकारले सार्वजानिक बिदा समेत दिएको थियो । तराइका जिल्लाहरुमा भने होली आज मनाइदैछ ।


