संपादकीय
आगामी बुधबार जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गरिदै छ । जिल्लाका सबै बालबालिकाहरु खोपको पहुँचमा रहेको र आवश्यक मापदण्ड पुरा भएको भन्दै जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार उक्त घोषणा गर्न लागिएको हो । उक्त दिन प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखालाई पुर्णखोपयुक्त घोषणा गर्ने कार्यक्रम छ । सो कार्यक्रमको आयोजना क्रममा जिल्ला स्वास्थ्यले बनाएको बजेटलाई लिएर अहिले धेरैले आलोचना गरिरहेका छन् । स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तह, जिल्लामा क्रियाशिल संघसस्था, पेशागत संघसस्थाहरुसँग पत्र काटेरै सहयोग माग गरेको छ । घोषणा सभालाई तामझाम पुर्ण बनाउन भन्दै ११ लाखको बजेट बनाइएको गोरखा समाचारसँगको कुराकानीमा जिल्ला जनस्वास्थ्य प्रमुखले नै स्वीकार गरिसकेका छन् । ¥याली एवं झाँकीका लागि गाउँ/गाउँ बाट बस रिर्जब गरे ५ हजार दर्शक ल्याउने उनको दाबी छ ।
अतिथि सत्कार र खानपानमा रकम खर्च गर्ने जिल्ला स्वास्थयको योजना छ । जिल्लाको महत्वपुर्ण एवं संवेदनशिल कुरामा तडकभडक गर्न लागिएको धेरैको आशंका छ । जिल्ला स्वास्थ्य कार्यालयको कार्यशैलीको पनि तिब्र आलोचना भइरहेको छन् । पुर्ण खोपयुक्त घोषणा जस्तो महत्वपुर्ण कार्याक्रमलाई प्रभावकारी बनाउन पर्छ भन्ने हाम्रो पनि मत हो, तर कार्यक्रम झकिझकाउन बनाउने भन्दै लाखौं रकम खर्च गर्ने कुरा पक्कै राम्रो होइन । थोरै खर्चमा कार्यक्रमलाई प्रभावकारी बनाउने कुरामा सरोकारबालाहरुको ध्यान जाओस् । मुख्यमन्त्रीको नाम बिकाएर जिल्लामा पैसा उठाउने काम भएको छ त्यसलाई बन्द गरियोस् । यो घटनाले सबैलाई मितव्यी सिकाओस् ।


