मोहसिन अलि मियाँ/गोरखा
कृषि क्षेत्रमा गोरखाले प्रदेश ४ मा नेतृत्व गर्नेगरी काम गर्ने भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले बताएका छन् । मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक जिल्ला आएका मन्त्री थापाले प्रदेश ४ मा गोरखालाई अग्रणी रुपमा बिकास गर्ने गरी काम गर्ने बताएका हुन् । ‘गोरखामा कृषि क्षेत्रको प्रचुर सम्भावना छ, प्रदेश ४ को ११ वटै जिल्लालाई नेतृत्व लिन सक्ने बनाउनु पर्छ’ मन्त्री थापाले भने ।
सदरमुकाममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले अबको कृषि प्रणाली आधुनिक ढंगबाट अघि बढाउनु पर्ने भन्दै पुरानै शैलीको खेती प्रणालीले कृषकको आर्थिक उन्नती हुन नसक्ने बताएका छन् ।
आफु एक महिनासम्म प्रदेशका सबै जिल्लामा पुगेर अध्ययन, अनुगमन तथा निरिक्षण गरी कृषकको आवस्यकता र माग पहिचान गरी कार्ययोजना निर्माणमा लाग्ने मन्त्री थापा बताउछन् । ‘यो एक महिनासम्म म अध्ययन गर्ने सोचमा छु, अनि कृषि र कृषकका समस्या बुझेर मात्रै कार्यक्रम निर्माण तिर लाग्छु’
त्यस्तै महिनाको एक दिन ‘कृषकसंग मन्त्री’ कार्यक्रम समेत उनले घोषणा गरेका छन् । महिनाको एक दिन कृषकसंग बस्ने, काम गर्ने, अन्तरक्रिया गर्ने उनले घोषणा गरेका हुन् । ‘म महिनाको एक दिन कृषकसंगै बस्न जान्छु, उहाँहरुसंगै काम गर्छु, छलफल गर्छु, यसलाई मैले कृषकसंग मन्त्री भनेर कार्यक्रम बनाएको छु’ मन्त्री थापाले भने ।
प्रदेशका ११ वटै जिल्लाको कृषि क्षेत्रमा आ–आफ्नो पहिचान दिने गरी कार्यक्रम ल्याउने उनको दावी छ । भोकमरीले कुनैपनि जनता मर्न नपरुन भनेर खाद्य सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने मन्त्री थापाको भनाई छ । गोरखा लगायत प्रदेश ४ मा कुनै पनि कृषी सामाग्री आयात गर्नु नपर्ने गरी कृषी उत्पादन बढाउने कार्यक्रम ल्याउने उनको भनाई छ । ‘यो प्रदेशमा केही आयात गर्नै नपर्ने गरी उत्पादन गर्ने गरी काम गर्नुपर्छ, बरु अरु प्रदेशलाई सामान निर्यात गर्ने बन्नु पर्छ, यो असम्भव छैन’ मन्त्री थापाले भने ।
हाम्रो समाजमा पढेकाहरु कृषि पेशामा लाग्न नहुने परम्परा रहेको बताउदै यसलाई तोडेर शिक्षित बर्गलाई यस पेशामा ल्याउनु पर्ने बताएका छन् । ‘अहिलेसम्म हाम्रो समाजमा पढेकाहरुले खेतबारी जोत्न हुन्न भन्ने छ, अब त्यसलाई तोडेर टाइ सुट लायर गाडी चढेर खेतबारीमा जाने बातावरण बनाउनुपर्छ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी कार्यान्यव गदै कृषि ब्लक, कृषि जोन, सुपर जोन निर्माण गरी उन्नत तरिकाले कृषि क्षेत्रको बिकासमा लाग्नु पर्ने उनको जोड छ । अहिले सञ्चालनमा रहेका शहकारीहरु बैैकले जस्तो नाफा कमाउने मात्र ध्याउन्नमा लागेको भन्दै अब सहकारीलाई उत्पादन तिर लगाउनुपर्ने उनको तर्क छ ।
अहिले मन्त्रालय अन्र्तगतका सवै तहलाई आ–आफ्नो कार्यालयले गरेको प्रगती बारेमा तथ्याङगत जानकारी दिन निर्देशन दिईसकेको भन्दै मन्त्री थापाले प्रदेश ४ लाई नमुना बनाएर जनताको पक्षमा काम गर्ने बताएका छन् ।
त्यस्तै बुधबार नै उनि गोरखा नगरपालिका २ ताप्लेका जनतासंग भेटघाट कार्यक्रममा सहभागी भएका छन् भने आज शहिद लखन र गण्डकी गाँउपालिकाका जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




















