गोरखा समाचारदाता
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश ४ बाट गोरखाका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । बुधबार कास्कीको पोखरामा भएको निर्वाचनबाट पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार २ सय ६२ मत भार प्राप्त गर्न सफल भएका छन् ।
खोप्लाङ घर भएका पाण्डे नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुन् । उनले काँग्रेस सहित नयाँशक्ति र जनमोर्चाको समेत मत पाएका छन् । गाँउ पालिका प्रमुख, उप प्रमुख गरि १ सय ७० जना र प्रदेश सभा सदस्य ६० जना गरी कुल २ सय ३० मतदाता रहेको प्रदेश ४ बाट पाण्डेले सर्वाधिक मत पाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यले मतदान गरेको एक मत बराबर ४८ र स्थानीय तहका प्रमुख र उप प्रमुखको एक मत बराबर १८ मतभार हुने निर्वाचन आयोगले प्रावधान बनाएको थियो । उनको पक्षमा १६ जना प्रदेश सभाका सदस्य र ८३ जना स्थानीय तहको प्रमुख र उप प्रमुखले मतदान गरेका थिए ।
बिहान १० बजेदेखि सुरु भएको निर्वाचन दिउँसो १ बजे सकिए पनि ५ बजेपछि मात्रै मत गणना सुरु गरिएको थियो । मतदान प्रक्रियामा मनाङबाट विजयी स्वतन्त्र प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे बाहेक सबै मतदाताले मतदान गरेका छन् । प्रहरीको फरार सूचीमा रहेका मनाङ्गेले हालसम्म सपथ ग्रहण समेत गरेका छैनन ।


