गोरखा समाचारदाता
ठेक्का सम्झौता गरेको २ वर्ष सम्म ठेकेदारले सडक कालोपत्रे गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ४ का फिनाममा पर्ने गोरखा आरुघाट सडकको समय मै कालोपत्रे नहुँदा धुलोका कारण जनजिवन प्रभावित भएको भन्दै उनीहरुले आइतवार प्रर्दशन गरेका हुन । ‘गाडी आएपछि भागेर हिड्नु पर्छ, सडक परिपरीका घरमा बस्न सक्ने अवस्था छैन, अब कति सहने ?’ वडा अध्यक्ष रामशरण अधिकारीले भने ।
गोरखा नगरपालिका वडा नम्बर ४ को बुढी खोला नजिकै गरापानी आसपासका ५० भन्दा बढि घर धुरीका स्थानीयहरु आइतवार सडकमा भेला भएर प्रर्दशन गरेका हुन् । उनीहरुले यथाशिघ्र सडक कालोपत्रे गर्न माग गरको छन् । ‘मान्छे बस्न सक्ने अवस्था छैन, खानेकुरा खानपाइएको छैन्, बस्तुभाउलाई खुवाउने घाँस धुलाम्मे भएको छ, यस्तो ठाउँमा कसरी बस्ने ?’ अधिकारीले प्रश्न गरे ।
ढुङ्गाडे देखि फिनाम स्कुल सम्मको कच्चि सडक कालोपत्रे गर्नका लागी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर अहिले सम्म काम शुरु नहुँदा सडकको धुलोले सास्ती खेप्नपरेको स्थानीयहरुले गुनासो गरेका छन् । धुलाम्मे सडकमा सवारी गुड्दा उड्ने धुलोले स्वास्थ्यमा नकारात्मक असर पारेको उनीहरुको भनाइ छ ।
त्यस्तै गरापानीमा जोखिमपूर्ण रुपमा रहेको बिद्युतको तार मर्मतमा बिद्युत प्राधिकरणले चासो नदिएको बिरोधमा पनि सडक अवरुद्ध पारिएको स्थानीयहरुले बताएका छन् ।


