गोरखा समाचारदाता
जिल्लामा क्रियाशिल नागरिक समाज र मानवअधिकारकर्मीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पछिल्लो समय पुनर्निर्माणका क्रममा जनताले बिभिन्न खाले समस्या भोग्नु परेको भन्दै नागरिक समाजका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराएका छन् ।
निजी आवास पुनःनिर्माण गर्न सरकारले दिने अनुदानको रकम समयमा निकासा नभएको, निर्माण सामाग्रीको अनियन्त्रित मुल्यबृद्धि, ढुवानीमा समस्या लगायतका कारण भुकम्प पिडितलाई सास्ती भएको भन्दै समाधानका लागि जिल्लामा क्रियाशिल नागरिक समाजले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई आइतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
त्यस्तै सरकारले घोषणा गरे अनुसार भुकम्प पिडितले सेवा सुविधा नपाएको, लाभग्राहीमा छुट भएकाहरुको गुनासो सम्बोधन नभएकाले जिल्लाको पुनः निर्माणको गति सुस्त भएको भन्दै निकासका लागि पहल गरिदिन नागरिक समाजका अगुवाहरुले प्रजिअ बस्नेतलाई आग्रह गरेका छन् ।
नागरिक साझा सवाल गोरखा, पत्रकार महासंघ, मानवअधिकार सञ्जाल, गैसस महासंघ, मानव अधिकार तथा शान्ति समाज, सोच नेपाल, मानवअधिकार संगठन, महिला मानवअधिकार रक्षक सञ्जाल र इन्सेकले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझाउदै नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले सार्वजानिक सडकको दुरावस्था, बजार क्षेत्रको सडकको अति क्रमणका कारण जनताका दैनिक जिवनमा बाधा भएको भन्दै समाधानका लागि पहल र समन्वय गरिदिन प्रजिअ बस्नेतलाई आग्रह गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ बस्नेतले पछिल्लो समय जिल्लामा पुनःनिर्माण, निर्माण समाग्रीको मुल्यबद्धि र ढुवानीमा देखिएको समस्या हल गर्न आफु लागिपरेकोे बताएका छन् ।
त्यस्तै ध्यानाकर्षण पत्रमा लेखिएका समस्याहरुलाई सम्बोधन गर्न आफु प्रतिवद्ध रहेको समेत उनले बताएका छन् । ध्यानाकर्षणपत्र बुझाउन दुवाडी सहित नागरिक समाजका अगुवाहरु यदु अधिकारी, सिताराम श्रेष्ठ, सिताराम तिवारी, दिल बहादुर बस्नेत, सावित्री भट्ट, रमेश अधिकारी, मोहसिन अलि मियाँ लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो ।


