गोरखा समाचारदाता
माघ २१ गते । जिल्लाको एक सडक स्तरउन्नतीको क्रममा ठेकेदारले चलाखी गर्ने प्रयास गरेका छन् । ११ किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडकको पिच गर्ने क्रममा सजिलो ठाउँ छानेर पिच गर्न लागिएको भन्दै स्थानीय शसंकित भएका छन् । ‘अहिले जहाँ सम्म पिच भएको छ, त्यहाँबाट काम गर्नुपर्ने भएपनि कार्यालय र ठेकेदारको मिलेमतोमा सजिलो ठाउँ छानिएको छ’ सिरानचोक गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण बाबु दानीले भने ।
उक्त आयोजना अन्तर्गत अहिले सिराचोक गाउँपालिका वडा नम्बर ६ गाँखुको खैरेनी वनसम्म सडक पिच छ । त्यहाँबाट काम अगाडी बढाउनुको सट्टा झण्डै २ किलो मिटर छोडेर नयाँ साँघु बजार अगाडीबाट पिच गर्ने तयारी भएको स्थानीयले बताएका छन् । बढी जनघनत्व भएको, बजार क्षेत्रमा पहिले काम गर्नुपर्ने भएपनि ठेकेदारले अनावश्यक आशंका पालेको वडा अध्यक्ष दानीले बताए । ‘वर्खामा हिलो हुन्छ, अहिले धुलो भएर बसिखानु छैन्, त्यहाँ पहिले पिच गर्नुको सट्टा छोड्नु न्याय संगत हुँदैन’ उनले भने ।
क्रमश पिच गर्दै लैजानु पर्नेमा २ किलो मिटर छोडेर कार्य बढाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ‘यता केही समस्या छैन्, उता भन्दा यता बाटो धेरै भत्किएको छ, भत्किएको ठाउँमा पहिले काम गर्नुको सट्टा सजिलो ठाउँ छानेर पिच गर्न खोजिएको छ’ स्थानीय दिपक बाबु श्रेष्ठले भने । उनीहरुले शनिवार भेला गरेर यदी ठेकेदार र कार्यलयले मनपरी गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘यदी केही समस्या भए हामी सुल्झाउन तयार छौं, तर हामीसँग सल्लाह नै नगरी अगाडीबाट काम हुन भने दिदैनौं’ वडा अध्यक्ष दानीले भने ।
स्थानीयको मागलाई वेवास्था गरेर सडक पिच गरिए आन्दोलन गर्ने समेत निर्यण गरेका छन् । त्रिशुली कन्सन्ट्रसन ठेक्का लिएको उक्त सडकमा पिच गर्ने क्रममा जग्गा विवाद भएको भन्दै उक्त स्थानमा विवाद मिलाउन समय लाग्ने भएकाले अगाडी बाट काम गर्ने तयारी गरेको ठेकेदार श्रोतले बताएको छ ।




















