गोरखा समाचारदाता
माघ १७ गते । गोरखा उद्योग वाणिज्य सघंको अधिबेशन नजिकिएसँगै व्यापारी, व्यवसायीमा सरगर्मी बढेको छ । जिल्लाका व्यापारी व्यवसायीको छाता संगठनको उद्योग वाणिज्य संघमा हालका पदाधिकारीलाई नै पदोन्नती गर्ने प्रयास भइरहेको स्रोतले बताएको छ । जस अनुसार हालका प्रथम उपाध्यक्ष जिवनज्योति श्रेष्ठ अध्यक्ष, द्धितीय उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष र महासचिव भगवानबाबु मास्केलाई द्धितीय उपाध्यक्ष बनाउने कसरत भइरहेको छ ।
‘कामको अनुभव, सिनियारिटीको आधार मै साथीहरुलाई मौका दिने बारेमा छलफल भइरहेको छ’ नाम नबताउने सर्तमा गोरखा उद्योग बाणिज्य सघंको संस्थापन पक्ष निकटका एक व्यवासीयले गोरखा समाचारलाई भने । अहिलेको संस्थापन पक्षका सबैलाई समेट्ने गरी छलफलहरु भइरहेको उनले बताए ।
महासचिवमा भने मंगलबार राती अबेर सम्म टुंगो लागि सकेको थिएन् । यद्यपी हालका कोषाध्यक्ष राजुबाबु श्रेष्ठ र व्यवसायी भाईचन्द्र श्रेष्ठले महासचिवमा दाबी गरेको श्रोतले बताएको छ । यसैगरी सचिवमा प्रकाशचन्द्र श्रेष्ठ र अस्मकबाबु श्रेष्ठको दाबी परेको छ भने, कोषाध्यक्ष वर्तमान सचिवहरु गोबिन्द बहादुर गुरुङ, राजेन्द्र बिक र व्यवसायी मानकाजी श्रेष्ठको दाबेदारी पर्ने देखिएको छ ।
यी अधिकांश अनुहार अहिलेकै संस्थापन पक्ष निकट हुन् । आज हुने मनोनयमा क्रममा अहिले सम्म संस्थापन पक्षका उम्मेदवार खुले पनि अन्य व्यवासायीले भने उम्मेदवारी घोषणा गरेका छैनन् । बाम गठबन्धन निकट व्यवसायीहरु भने निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा मंगलबार राती अबेर सम्म छलफल मै रहेको एक व्यवसायीले बताए ।
‘कसरी जाने भन्ने बारेमा हामी छलफल मै छौं, अहिले प्यानल नै बनाएर जाने सम्भावना कम छ, इन्डिभिजिओल रुपमा साथीहरु उठ्नु हुन्छ उहाँहरुलाई जिताने प्रयास गर्छौ’ नाम नबताउने शर्तमा उनले भने । पहिलो पटक सबै पदमा निर्वाचन हुन लागेको गोरखा उद्योग वाणिज्य सघंको पदाधिकारीमा पुरानै अनुहार आउने प्राय निश्चित देखिन्छ भने कार्य समितिको सदस्यमा भने नयाँ अनुहारहरु धेरै आकांक्षी देखिन्छन् ।
गोरखा उद्योग वाणिज्य संघको ४४ औ वार्षिक साधारण सभा तथा १५ औं अधिवेसन आगामी शनिवारबाट सुरु हुँदै छ । दुई दिन सम्म चल्ने अधिवेशनले आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
गोरखा उद्योग वाणिज्य सघंको मनकामना, भच्चेक, पालुङटार र आरुघाट गरी ४ उपशाखा छन् । सघंमा सात सय भन्दा बढी व्यवसायी आवद्ध छन् ।


