गोरखा समाचारदाता
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा दरौदी करिडोर मार्फत पहिलो पटक बस पुगेको छ । शनिवार लाप्राक पुगेको यात्रुबाहक बस आईतबारगुम्दा पुगेपछि स्थानीयहरुले खुसियाली मनाएका छन् ।
पहिलो पटक बस पुगेको खुशियालीमा स्थानीयहरुले चालक सागर थापालाइ पैसाको माला लगाएर स्वागत तथा सम्मान गरेका थिए । आइतबार ना ४ ख २१३ नंबरको बस पहिलो पटक गुम्दा पुगेको हो ।
बस पुगेसँगै उत्तरी गोरखाको लाप्राक, गुम्दा, यमगाउँ, लप्सीबोट, सिङ्ला, खानीगाउँ, खोर्लाका बासिन्दालाई सदरमुकाम जावतजावत गर्न पैदल हिड्नुपर्ने समस्या हटेको छ । त्यस्तै स्थानीयहरुले नाचगान समेत गरेका थिए ।
बस पुगेपछि लाप्राक गुम्दा, गुम्दाकै लप्सीबोट, यमगाउँ र सिङ्ला, खानीगाउँका २ हजार घरधुरीका बासिन्दाले यातायात सेवा पाउने भएका छन् ।


