मोहसिन अलि मियाँ/गोरखा
माघ ११ गते । मौसममा आएको परिवर्तन संगै चिसो बढेपछि जिल्लाभरका भुकम्प पिडितको जनजिवन कष्टकर बनेको छ । मंगलबार रातीदेखि परेको बर्षा भएपछि जिल्लामा चिसो बढेको हो । चिसो बढेसंगै भूकम्प पीडितहरु प्रत्यक्ष मर्कामा परेका छन् । ‘भएको टहरो पनि भत्काएर घर बनाउन थालियो, रातभरी असिना पानी परेर हाम्रो त बिचल्ली नै भएको छ’ मान्बुका भिमराज गुरुङले भने ।
घर निर्माणधिन अवस्थामा रहेको र भएको टहरा पनि भत्काउदा हाल घरको न घाटको भएको उनको भनाई छ । जिल्लाको पुनःनिर्माणको गति सुस्त भएकाले हालसम्म पनि अधिकांशको बास अस्थायी टहरा मै भएकाले दैनिक जिवन थप कष्टकर बनेको छ । कयौं पीडितहरु कमजोर टहरा र टालेका, फाटेका त्रिपालमा रात गुजारिरहेका छन् । कामकाजी पीडितहरु चिसोको बढी जोखिममा छन् । हालसम्म पनि घर नबन्दा कतिपय भूकम्प पीडितहरु विचल्लीमा परेका छन् ।
‘घर बनाउन भनेर सुरु गरेको कहिले सामान पाइदैन, कहिले खेताला नपाइने, कहिले केही मिल्दैन, हरिबिजोग भाको छ, बच्चाहरु र बुढाबुढीलाई सबैभन्दा बढि समस्या छ’ गुरुङले भने ।
उता सामान्य बर्षा भए संगै उत्तरी क्षेत्रमा बाक्लो हिमपात भएको छ । मौसममा बद्ली भए सगै मंगलबार देखि परेको हल्का बर्षाका कारण हिमाली भेकमा हिमपात भएको स्थानियबासीहरुले बताएका छन् । हिमपातसंगै सो क्षेत्रका बासिन्दाको जनजिवन निक्कै कष्टकर बनेको छ । ‘अस्ति साँझसम्म हिमपात भएको थिएन, हिजो बिहान उठ्दा त घरबाट निस्किनै नसकिने भएछ, यहाँ सबै घरभित्रै बसेका छन्, एकदमै चिसो बढेको छ’ धार्चे गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राज गुरुङले भने ।
गोरखाको लाप्राक, चुम्चेत, छेकम्पार, ल्हो, बिही, प्रोक तथा सामागाउँ क्षेत्रमा हिमपात जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उत्तरी गोरखाको साम्दोमा पनि बिहानै देखी हिमपात भै रहेको स्थानियले बताएका छन् । हिउ परे पछि अन्नबाली राम्रो हुनुका साथै धमिलो भएको मौषम सफा पनि हुने भन्दै स्थानियहरु खुशि भएका छन् ।
मौषम परिवर्तन संगै जिल्लाको धेरै जसो भू भागमा पानी परेको छ । हावा समेत चलेको र घाम नलागे पछि चिसोको महसुस गरिएको हो ।


