नरेन्द्र ढकाल/गोरखा
गोरखा, माघ ९ गते । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले सांसद बापत पाउने रकम जनहितमा खर्च गर्ने बताउनुभएको छ । प्रेस युनियन गोरखाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै दवाडी आफ्नो राज्यबाट पाउने सम्पुर्ण रकम सोही निर्वाचन क्षेत्रका जनताको लागि खर्च गर्ने घोषणा गर्नुभएको हो । ‘प्रदेश सांसदको हैसियतमा मलाई राज्यले जे जति रकम दिन्छ म जनताको लागि खर्च गर्छु’ दवाडीले भन्नुभयो ।
क्षेत्र नम्बर २ को प्रदेश सभा ख का गाउँगाउँमा पुगेर स्थानीयको समस्या पहिचान गरि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा उक्त रकम खर्च गर्ने उहाँको योजना छ । ‘म गाउँपालिकाका वडाहरुमा पुग्छु, जनतालाई भेट्छु कस्लाई के चाहिएको छ त्यसमा सहयोग गर्छु ।’ आगामी ५ वर्षमा उक्त क्षेत्रलाई नमूना बनाउने भन्दै उहाँले सडक, पुर्वाधार विकास र जनजिविकाको उकास्ने खालका कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गनुभएको छ ।
‘गाउँ/गाउँमा २४ सै घण्टा मोटर चल्न सक्ने बनाउने काममा मेरा मुख्य ध्यान केन्द्रित रहनेछ’ दवाडीले भन्नुभयो ‘कृषि र पर्यटनको क्षेत्रमा थुप्रै काम गर्ने मेरो योजना छ ।’ केही वर्ष यता जिल्लाको शैक्षिक क्षेत्रमा उदारणीय काम गरी चर्चामा आउनुभएका दवाडीको छवी राजनितिक भन्दा सामाजिक बढी छ ।


