काठमाडौँ — रोहितकुमार पौडेलले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार छक्का प्रहार गर्दै भैरहवा ग्लाडीयटर्सलाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पुर्याएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दा रोहितले अविजित २७ रन प्रहार गरे ।
पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल खडा गरेको थियो । ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए । सन्नी पाटिलले २४ र दिपेश भण्डारीले २२ रन जोडे । भैरहवाका पुनित मेहेराले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो । ओपनर प्रथम सालुन्केले ३२ रनको योगदान दिएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक पर्दा रोहितले दिपेश भण्डारीको पहिलो दुई बलमा लगातार छक्का प्रहार गरे । ललितपुरका लागि पवन सर्राफ र ललित राजवंशीले २-२ विकेट लिए ।
विराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स बीचको फाइनल खेल शनिबार हुनेछ ।
ekantipur



