मोहसिन अलि मियाँ/गोरखा
पुस १३ गते । सदरमुकाममा बाल संरक्षण र बाल अधिकारका बिषयमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । गोरखा नगरपालिका स्तरिय गोष्ठीमा बाल संरक्षणका सरोकारवालाहरुको सहभागिता रहेको छ । नगर प्रमुख एवम नगर बाल संरक्षण समितीका संयोजक राजनराज पन्तको अध्यक्षतामा सुरु भएको गोष्ठीको पहिलो दिन बाल अधिकार र बाल संरक्षणका बिषयमा छलफल भएको छ ।
युनिसेफ नेपालको सहयोग र चेस गोरखाको आयोजनामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ । नगरपालिकालाई बाल मैत्री बनाउन सहयोग पुरयाउने र क्षमता अभिबृद्धि गराउने उदेश्यले गोष्ठीको आयोजना गरिएको चेस गोरखाकी कार्यक्रम संयोजक रचना सापकोटाले जानकारी दिएकी छिन् ।
गोष्ठीको जिल्ला बाल कल्याण समितीका सुचना ब्यवस्थापन अधिकृत सरोज कोइरालाले सहजिकरण गरेका छन् । गोष्ठीमा जोखिममा परेका बालबालिकाको पहिचान कसरी गर्न सकिन्छ र त्यस पश्चात उनिहरुको उद्धार र सहायताका लागि वडा र वाल संरक्षण समितीले कसरी काम गर्ने भन्ने बारे कोइरालाले सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै समुदायमा हुने बाल हिंसा, बाल र्दुव्यवहार, यौन शोषण, बाल श्रम र यसको रोकथामका बिषयमा समेत छलफल भएको थियो ।
त्यस्तै बाल संरक्षण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, कानुनको समेत सहभागिहरुलाई जानकारी गराइएको संयोजक सापकोटाको भनाई छ । ४ गाँउपालिका र एक नगरपालिकामा जोखिममा परेका बालबालिकाको पारिवारिक संरक्षणमा चेस गोरखाले कार्यक्रम सञ्चालन गरिरहको उनले बताएकी छिन् ।


