नरेन्द्र ढकाल/गोरखा
गोरखा नगरपालिका वडा ८ रानीबनका नेत्र बहादुर अधिकारी बिहान खाना खाने बित्तिकै हस्पिटल चोक झरे । उमेरले ८७ बसन्त पार गरिसकेका अधिकारी आफूले भोट हालेर जिताएका डाक्टर बाबुराम भट्टराइलाई भेटेर बधाई दिने धोको साथ हस्पिटल चोक नजिकै दिन भर कुरेर बसे । अपराह्न्न ३ बजे डाक्टर भट्टराई आएपछि हतारिदै उनी सामु पुगको अधिकारीले बधाई दिदै भलाकुसारी समेत गर्नभ्याए । ‘तपाइले जित्नुभयो म साह्रै खुसी छु, अब हामीलाई नर्बिसिनु नी फेरी’ अधिकारीले भने ।
केही समय डाक्टर भट्टराइको हात समातेर बसेका अधिकारीले भट्टराइलाई केही सुझाव समेत दिए ‘तपाइले जित्नु भएको छ यसैमा खुसी छ, हामीलाई केही चाइदैन्, बाटोघाटो बनाउनुस्, जिल्लाको बिकास गर्नुस् ।’ जवाफमा डाक्टर भट्टराईले उनलाई धन्यवाद दिदै भने ‘बालाई पनि धेरैधेरै धन्यवाद, तपाइको आशा मर्न दिने छैन, तपाइले भने जस्तै गरी काम गर्छु ।’ गोरखा क्षेत्र नम्बर २ का नवनिवार्चित सांसद डाक्टर भट्टराई मतदातासँग बधाई तथा शुभकामना आदानप्रदानका लागि गाउँ पसेका छन् ।
आफूलाई जिताएका मतदातालाई धन्यवाद दिन जिल्ला सदरमुकाम आएपुगेका भट्टराई गोरखा नगरपालिका ८ आहालेबाट उक्त यात्रा सुरु गरेका हुन् । आहालेमा आयोजित शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा बाल्दै उनले जनताले दिएको विश्वास डग्न नदिन बताए । ‘तपाइहरुले जुन विश्वास र जिम्मेवारी दिनुभएको छ, त्यसलाई म पुरा गर्छु’ उनले भने ।
अबको एकसाता सम्म डाक्टर भट्टराइ गोरखा क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएर मतदातालाई धन्यवाद ज्ञापन गर्ने नयाँशक्ति पार्टीले जानकारी दिएको छ ।




















