गोरखाले आगामी ५ वर्षका लागि जनप्रतिनिधि पाएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका प्रतिनिधि चुनिएसँगै संबिधान कार्यन्वयनको महत्वपुर्ण खुड्किलो मानिएको निर्वाचन सकिएको छ । गोरखार्ली जनताले ५ वर्षका लागि छानेका प्रनिनिधिहरु को को कस्ता छन त ? हामीले उनीहरुको संक्षित जिवनी तयार पारेका छौ ।
को हुन् विजेता हरिराज अधिकारी ?

गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हरिराज अधिकारी राजनितीमा सालिन नेताका रुपमा परिचित छन् । बुवा थिर बहादुर अधिकारी र आमा भगवतीको कोखबाट वि.स. २०२४ साल मंसिर १३ गते साविकको दर्वुङ गाविस ५ अलैचेमा जन्मेका अधिकारीले सानै उमेरबाट राजनितीमा प्रवेश गरेका थिए । २०३६ सालबाट विद्यार्थी राजनिती सुरु गरेका उनी २०४१ सालमा पार्टीको सदस्य हुदै २०४६ बाट पूर्णकालिन सदस्यका रुपमा राजनितीक यात्रा आरम्भ गरेका थिए ।
गोरखा क्याम्पसबाट बि.एड. सम्मको अध्ययन गरेका अधिकारी २०४३ सालमा क्याम्पसको स्ववियु सभापति समेत बनेका थिए । तत्कालिन नेकपा माओवादीले २०५२ बाट सुरु गरेको जनयुद्धमा सुरुवाती चरणबाटै भुमिगत बनेका उनी पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कर्मठ नेताका रुपमा छबि बनाएका छन् । जनयुद्ध कै क्रममा २०५९ जेठ १० गते उनकी श्रीमती जुना ढकाल शहिद भएकी थिइन ।
२०५४ सालमा पार्टीको जिल्ला इन्चार्जका रुपमा काम गरेका अधिकारीसंग गोरखा संगै तनहुँ, पाल्पा, रौतहट, पर्सा लगायतका जिल्लामा नेतृत्वतहमा रहेर समेत काम गरेको अनुभव छ । २०५७ सालदेखि लगातार सात बर्ष २०६३ सम्म जनमुक्ति सेनाको विग्रेट कमिसारको जिम्मेवारी समालेका उनी पछिल्लो समय पोखरामा बसेर पार्टीको प्रदेश स्तरको नेतृत्व सम्हालेका थिए । पछिल्लो समय पार्टीको प्रदेश नम्बर ४ को प्रदेश संयोजक रहेका अधिकारी केन्द्रिय सचिवालय सदस्य समेत हुन् ।
बाम गठबन्धनबाट उम्मेदवार बनेका अधिकारीले नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठलाई ३ हजार २ सय १७ मतान्तरले पराजित गरी संसदिय राजनितीको यात्रा सुरु गरेका छन् । ६३ हजार ६१९ मत खसेको क्षेत्र नम्बर १ बाट २९ हजार ८ सय ६० प्राप्त गरेका अधिकारी बिजयी बनेका हुन् ।
लेखबहादुर थापा को हुन् ?

वि.स. २०३२ मंसि र २ गते ताप्ले गाविसको वडा नम्बर ५ मा जन्मेका लेख बहादुर थापा मगर गोरखा क्षेत्र नम्बर १ को प्रदेशसभा क मा निर्वाचित भएका छन् । बुवा भिम बहादुर थापा मगर र आमा भद्र कुमारी थापा मगरका जेठा सन्तानका रुपमा रहेका थापा पार्टीमा इमान्दार र कुशल नेताका रुपमा आफुलाई उभ्याउन सफल भएका छन् ।
हालसम्म कुनै पनि सार्वजानिक पद धारण नगरेका थापाले २०५१ सालबाट जनजाती आन्दोलन र विद्यार्थी आन्दोलनबाट राजनितिक यात्रा सुरु गरेका हुन् । आइ.एड सम्मको पढाई सम्पन्न गरेका उनी पार्टी भित्र र बाहिर स्वाभिमानी र हकि स्वभाव भएका नेताका रुपमा परिचित छन् । कम बोल्ने र बस्तुपरक निर्णय लिन सक्ने क्षमता बनाएका थापा २०५३ चैतमा भुमिगत भएका थिए ।
थापाले जनयुद्धकालमा जनमुक्ति सेनाको वटालियन कमिसार हुदै २०६० सालमा जनपरिषदका जिल्ला संयोजकको समेत अनुभव संगालेका छन् । उनी हाल नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत हुन् ।
नेपाली काँग्रेसका धिरन थापालाई २ हजार ५ सय ३९ मतान्तरले पराजित गर्दै थापाले प्रदेशसभा सदस्यको यात्रा तय गरेका छन् । कुल खसेको ३२ हजार ४ सय २ मत मध्ये लेख बहादुरले १६ हजार ५ सय ५ मत प्राप्त गरेका थिए ।
प्रदेश ख का रामशराण बस्नेत को हुन् ?

साविकको नारेश्वर ८ घर भएका रामशरण बस्नेत गोरखा क्षेत्र नम्बर १ को प्रदेश ख मा निर्वाचित भएका छन् । वि.स. २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर बस्नेत र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट जन्मेका बस्नेत नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत हुन् । २०३२ सालमा ७(८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार नेताका रुपमा समेत चिनिन्छन् ।
लायन्स क्लब अफ गोरखाको दुइ कार्यकाल नेतृत्व सम्हालेका बस्नेत राजनितीमा मात्रै नभई सामाजिक अगुवाका रुपमा पनि आफ्नो छबि बनाएका छन् । २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्ष निर्वाचित भएका उनि २०५२ मा पार्टीको जिल्ला कमिटी सदस्य, उप(सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक अध्यक्ष बनेका थिए ।
त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए ।
२०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । हाल पार्टीको गोरखा र मनाङ जिल्लाका इन्चार्जको भुमिकामा रहेका बस्नेत बाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
बस्नेतले नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका हुन् । ३१ हजार एक सय आठ मत खसेको उक्त प्रदेशमा बस्नेतलाई १६ हजार छ सय ५६ मत खसेको छ ।


