गोरखा समाचारदाता
मंसिर १५ गते । शहिद लखन गाँउपालिका वडा नम्बर ७ मास्केछापका कृष्ण बहादुर रानाले घर पुनःनिर्माण सम्पन्न गरेको एक बर्ष बितिसक्यो । निजि आवास अनुदानको पहिलो किस्ता लिएर घर बनाउन सुरु गरेका रानाले दोस्रो किस्ता पनि पाए । तर घर बनेको बर्ष वितिसक्दा समेत उनले तेस्रो किस्ता पाउन सकेका छैनन । मास्किछापमा सबैभन्दा पहिला किस्ता लिएर घर बनाउन सुरु गरेका रानाले इन्जिनियरले भने अनुसार नै घर पनि बनाए । गाँउमै पहिलो घर पुननिर्माण गरेर पनि उनैले नै सके तर हालसम्म उनैले तेस्रो किस्ता पाएका छैनन ।
‘यो गाँउमा घर बनाउने पहिलो मान्छे मै हुँ, उहाँहरु आएर हेरेर पनि जानुभाको हो, सबै मापदण्ड पुग्या छ भन्नुहुन्थ्यो, खै आजसम्म तेस्रो किस्ता पाको छैन’ मास्केछापका रानाले भने । उनको घर गाँउमै नमुना बन्यो, त्यै घर हेरेर अरुले घर बनाए तर त्यै घरले किस्ता पाउन सकेको छैन । ‘इन्जिनियरले मेरै घर हेरेर गाँउका अरुलाई समेत यस्तै घर बनाउनु भनेर सबैलाई भनेका थिए, कत्तिले त मेरै डिजाइनमा बनाएका छन’ रानाले भने ।
घर निर्माणको एक बर्ष बितिसक्दा समेत तेस्रो किस्ता नपाउदा उनलाई मनमा त्रास पैदा भएको बताउछन् । गाँउमा उनको भन्दा पछि घर बनाउनेहरुले तेस्रो किस्ता लिइसक्दा कतै किस्ता नपाइने हो कि भन्ने उनलाई ठर लागेको छ । ‘मेरै घर हेरेर पछि घर बनाउनेहरुले किस्ता लिइसके, खै मेरो त के भयो के, आजकल त पाउदिन कि भन्ने पो लाग्न थालेको छ त’ उनले दुखेसो गरे । रानाको जस्तै घर निर्माण सम्पन्न भएको तर तेस्रो किस्ता नपाउनेहरुको संख्या बुंकोटमा १ सय ४ घरधुरी रहेको प्रतिबेदन सार्वजानिक भएको छ ।
उक्त वडा कै भिम कुमारी रानाको पनि समस्या उस्तै छ । ‘घर भुइँचालोले भत्कायो, २ बर्षसम्म लाभग्राहीको सुचीमा नाम निस्क्याथेन, बल्ल निस्केर सम्झौता गरेको छु, तर पहिलो किस्ता पनि लेको छैन’ उनले भनिन् ।
बुधबार पारस्पारिक जवाफदेहिता परियोजनाले शहिद लखन गाँउपालिकाको ७ र ८ मा गरेको सार्वजानिक खर्चको सोधखोजको प्रतिबेदन सार्वजानिक कार्यक्रममा उक्त तथ्य बाहिर आएको हो । मानववादी समाज (सोच) नेपालको समन्वयमा सञ्चालित परियोजनाले केही समय अघि देखि उक्त वडाहरुमा भुकम्पपिडितको निजि आवास अनुदान किस्ता रकम वितरणका बारे अध्ययन गरि सरोकारवालाहरुका बिच प्रतिबेदन सार्वजानिक गरेको हो ।
साझा सभाकी संयोजक उर्मिला राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, ८ का वडा अध्यक्ष काशीनाथ अम्गाईले वडामा भएका पुननिर्माणको समस्यालाई छिटो भन्दा छिटो सामाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । साथै उनिहरुले अनुदानको रकम पारदर्शी ढंगले बितरण गर्ने समेत बताएका छन् ।
सोच नेपालका गोरखा जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले प्रतिबेदन सार्वजानिक गरेका हुन् । १ हजार ७ सय ३६ लाभग्राही रहेको साविकको बुंकोटमा १ हजार ५ सय ७६ घरधुरीले मात्र पहिलो किस्ता लिएको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै ३ सय २० ले दोस्रो र १ सय ४८ ले तेस्रो किस्ता लिएको पाइएको छ ।
कार्यक्रममा सोही वडामा पुननिर्माणमा कार्यरत सव–इन्जिनियर श्रीप्रसाद यादव, भुकम्पप्रभावित, स्थानीय शिक्षक, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
घर बनेको बर्ष दिन बित्दा समेत तेस्रो किस्ता नपाएको गुनासो
घर बनेको बर्ष दिन बित्दा समेत तेस्रो किस्ता नपाएको गुनासो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


