नरेन्द्र ढकाल/गोरखा
कात्र्तिक १ गते । हातमा पैसा नभएका कारण घर बनाउन नसेका भुकम्प पिडितहरुलाई लक्षित गरी आरुघाट गाउँपालिकाले नौलो योजना ल्याएको छ । निजी आबास अनुदानको पहिलो किस्ता बुझे पनि रकम अभाव भएका र घर बनाउने कामदार नपाएकाहरुलाई मध्येनजर गरी गाउँपालिकाले भुकम्प पिडित सहायता कोष सञ्चालनमा ल्याएको हो । ‘आर्थिक तथा मानबिय सहयोग नपाएका कारण घर बनाउन नसक्नु भएकाहरुलाई हामीले सापटी स्वरुप रकम दिने व्यवस्था मिलाएका छौ’ आरुघाट गाउँपालिकाका प्रमुख पुर्ण बहादुर दाहालले भने ।
गरिब,असाहाय, अशक्त अपाङ्गगता भएका, जेष्ठ नागरिक, एकल महिला, दलित लगायत अरुको सहयोग बिना आफै घर बनाउन नसक्नेहरुका लागि आर्थिक तथा मानबिय दुबै सहयोग पु¥याउन उदेश्य उक्त कोष स्थापना गरिएको हो । कोषका लागि गाउँपालिकाले १० लाख रकम छुट्याएका छ ।‘सुरुमा हामी सापटी स्वरुप उहाँहरुलाई १ लाख रकम उपलब्ध गराउछौ’ अध्यक्ष दाहालले भने ‘उक्त रकमले काम भएपछि उहाँहरुको दोश्रो किस्ता आउँछ अनि हामी रकम फिर्ता लिन्छौ ।’गाउँपालिका भित्र भएका फरक क्षमताका भुकम्प पिडितलाई घर बनाउन सहयोग पु¥याउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपालमै पहिलो पटक आरुघाटले लोककल्याणकारी क्षेत्रमा कोष स्थापना गरेर भुकम्प पछिको पुर्ननिर्माण कामलाई समय सक्ने लक्ष्य लिएको छ । ‘सरकारले तोकेको समय सिमा भित्र हामी सबैको घर बनोस् भन्ने चाहान्छौं’ दाहालले भने ‘कुनै कारणले घर नबन्ने वातावारण सिर्जना हुनुहुदैन भनरे उक्त योजना ल्याईएको हो ।’ आगमी असार मसान्त भित्र उक्त गाउँपालिकाका भित्र ७५ प्रतिशत भन्दा बढि घर बनाउने लक्ष्य राखिएको छ ।
यदी कसैलाई रकम अभाव नभएको तर घर बनाउने कामदार नपाएका कारण समस्या भएको हो भने पनि गाउँपालिकाले सोको प्रबन्ध समेत गरिदिने भएको छ । उक्त दुबै सहयोग पाउनका लागि निजि आबास अनुदानको पहिलो किस्ता बुझेको व्यक्ति हुनु पर्छ । ‘पहिलो किस्ता त लिनु भयो तर उक्त रकम अरु काम मै खर्च भएर पछि उहाँसँग घर बनाउने पैसा छैन हामी त्यस्तो मानिसलाई सहयोग गछौ’ दाहालले भने ‘घर अभिभावक नभएर कामदार खोज्न समस्या छ भने पनि हामी कामदार लगाईदिन्छौ ।’

उक्त सहयोग समग्र आरुघाट गाउँपालिकाका नागरिकले भने नपाउने उनले स्पष्ट पारेका छन् । फरक क्षमता भएकै कारण घर बनाउन नसकेकाहरुलाई मात्र सहयोग गरिने कार्यविधी बनेको छ । हाल सम्म ४ जनाले रकम माग गर्दै आवेदन दिइसकेका छन् । वडा अध्यक्षको सिफारिसमा गाउँपालिका उपप्रमुख संयोजकत्वको रहेको समितिले उक्त कुराको निर्णय गरेपछि दुई पक्ष विच सम्झौता गरेर रकम दिने व्यवस्था मिलाईएको छ ।
‘हामीले कार्यविधी नै बनाएका छौ, उक्त कार्यविधीले तोके अनुसारको प्रक्रिया पुरा गरेपछि उहाँहरुले उक्त सहयोग पाउनु हुन्छ’ अध्यक्ष दाहालले भने । शुरुमा ४ जना मध्ये ३ जना अति विपन्न समूदायको र १ जना दलित तथा एकल महिलालाई १ लाख सापटी दिने तयारी गरिएको छ । एक पटकमा १० जनालाई मात्र सहयोग गर्न सकिने र उहाँहरुको दोश्रो किस्ता आएपछि सापटी फिर्ता गरेर अरुलाई पुनः उक्त रकम सापट दिने गाउँपालिकाको योजना छ ।

आरुघाट गाउँपालिकाको उक्त योजनाको जिल्लाका सरोकारवाला र पुर्ननिर्माण प्राधिकरण उच्च पदस्थ अधिकारीहरुले समेत तारिफ गरेका छन् । केही दिन अघि जिल्ला सदरमुकाममा भएको एक कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर हरेराम पराजुलीले आरुघाट गाउँपालिकाले भुकम्प प्रभावित जिल्लाहरुमै नमुना काम गरी पिडितहरुको घर बनाउने कामलाई प्राथमिकतामा राखेको भन्दै तारिफ गरेका थिए ।
अन्य स्थानीय तहले पनि सोही खालका काम गर्न सके तोकिएको समयमा सबै पिडितले घर बनाउन सक्ने सरोकारवालाहरु बताउँछन् । जिल्ला अधिकाशं गाउँहरुमा वृद्ध/वृद्धा असाहय, अपाङ्गता भएकाहरुले आर्थिक तथा मानविय कारणले घर बनाउन सकेका छैनन् ।




















