नरेन्द्र ढकाल/गोरखा
अशोज ३१ गते । आसन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवार छान्न दलहरुलाई कठिन भएको छ । एकै दलमा सयौं आंकाक्षी रहेका बेला गठबन्धन समेत बनेपछि नेता कार्यकताको व्यवस्थापन गर्न राजनितिक दलहरुलाई धौ–धौ भएको छ । ‘काँग्रेस ठुलो पार्टी हो यहाँ धेरै दुःख गरेका साथीहरु हुनुहुन्छ केही समस्या त हुन्छ नै’ नेपाली काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले भने ‘ यदी गठबन्धन भए त्यहाँ समस्या हुनु स्वाभाविक पनि हो ’ । काँग्रेसले औपचारिक निर्णय नगरे पनि क्षेत्र नम्बर २ मा नयाँ शक्ति संयोजक डाक्टर बाबुराम भट्टराई सहयोग गर्ने तयारीमा देखिन्छ ।

नयाँ शक्तिले क्षेत्र नम्बर २ सँगै सोही क्षेत्रको प्रदेश नम्बर १ पनि मागे पछि काँग्रेस भित्रका आंकाक्षीहरुको व्यवस्थापन गर्न हम्मे हम्मे परेकोछ । केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कमला पन्त र नेता अब्दुल सतारले क्षेत्र नम्बर २ को उम्मेदवारका लागि आवेदन समेत हालेका थिए । भट्टराईलाई उक्त क्षेत्र दिए पछि ती नेताहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती काँग्रेसलार्ई छ । स्रोतका अनुसार सुरेन्द्रराज पाण्डे र कमला पन्तलाई समानुपातिकको टिकट दिने र अब्दुल सतारलाई सोही निर्वाचन क्षेत्रको प्रदेश नम्बर २ मा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

उक्त स्थानमा काँग्रेस क्षेत्रिय सभापती गोबिन्द गुरुङ सहित आधा दर्जन आंकाक्षी छन् । क्षेत्र १ मा नयाँ शक्तिले सघाउने भएपछि यहाँबाट आवेदन हालेकाहरु टिकट प्राप्तीका लागि जोडबल गरिरहेका छन् । यो क्षेत्रबाट राजेन्द्र बज्जाइँ र हरी घले मध्ये १ लाई प्रत्यक्ष टिकट दिने तयारी काँग्रेसको छ । चिनकाजी श्रेष्ठको नाम भने समानुपातिकमा पठाउन लागिएको श्रोतले दाबी गरेको छ । क्षेत्र नम्बर १ को प्रदेश नम्बर १ मा धिरन थापा र २ मा जिल्ला सचिव नन्द प्रसाद न्यौपानेको नाम सहमती नजिक पुगेको नेताहरुले बताएका छन् ।

नेकपा एमालले भने गोरखाका २ वटा प्रदेश सभा निर्वाचनको टिकट पाउने संभावना बढेको छ । ‘भोली सम्म कहाँ कस्ले लिने भन्ने टुंगो लाग्छ अनि मात्र को कहाँ उठ्ने भन्ने एकिन हुन्छ’ एमालेका जिल्ला सचिव कृष्ण नेपालीले भने । यदि एमालेले दुई वटा प्रदेश पाएमा बैकल्पिक केन्द्रिय सदस्य रामशरण बस्नेत र जिल्ला सचिव कृष्ण नेपालीको संभावना बलियो देखिएको एमालेको भनाई छ । ‘सबैलाई चित्त बुझाउन त समस्या भईहाल्छ, गठनबन्धन भएपछि पनि झनै स्वभाविक भईहाल्यो तर हाम्रा साथीमा त्यती धेरै समस्या छैन भन्ने लाग्छ’ सचिव नेपालीले भने ।
गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई सबै भन्दा बढि समस्या देखिएको छ । र्शीष नेताहरुलाई व्यवस्थापन गर्न गारहो भएपछि नयाँ शक्तिका संयोजक भट्टराई समेत समर्थन नगर्ने निर्णयमा पुगेको माओवादीमा थुप्रै आंकाक्षी छन् । माओवादीले प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र १ मा ४ नम्बर प्रदेशका इन्र्चाज हरी अधिकारीलाई उठ्ने पक्कापक्की भएको छ ।‘उहाँको नाममा त सहमती जुटिसकेको छ, अरु साथीहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भईरहको छ’ माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेख बहादुर थापाले भने । गठबन्धन भित्र कसले कहाँ लिने भन्ने बारेमा सहमती नभईसकेकाले पनि समस्या भएको हो ।

माओवादीमा र्शीष नेता धेरै भएपछि दोश्रो पङ्तीका नेताहरु ओझेलमा परेका छन् । पूर्व सभासद हितराज पाण्डे,परशुराम रम्तेल, अम्मर तमु, छम बहादुर तमु, कृष्ण धिताल, जिल्ला इन्र्चाज चुणामणी खड्का, जिल्ला अध्यक्ष लेख बहादुर थापा, अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष लेखनाथ न्यौपाने लगायतका प्रभावशाली नेताहरुलाई कहाँ व्यस्थापन गर्ने भन्ने समस्या माओवादी केन्द्रमा छ । गठबन्धनका कारण २ वटा प्रदेश एमालेलाई दिनुपरे पछि झनै समस्या थपिएको छ । ‘गठबन्धनका कारण नै समस्या भएको त होइन तर कुन ठाउँमा को पात्र छनोट गर्ने, भन्ने विषय चाँही पेचिलो छ’ थापाले भने ‘हामी बिच केही विवाद छैन, पार्टीले जस्लाई पठाउँछ उहाँलाई सहयोग गर्ने हो ।’ थापाले आफू भने क्षेत्र नम्बर १ को प्रदेश नम्बर १ मा उठ्ने सहमती भईसकेको दाबी गरे ।

काँग्रेससँग तालमेल गरेको नयाँ शक्तिले क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा जिल्ला अध्यक्ष रमेश पोखरेल र हरिशरण आर्चाय मध्ये एकलाई उठाउने तयारी गरेको छ । त्यहाँ पनि पोखरेल र आर्चाय मध्ये को उठ्ने भन्ने बारेमा विवाद रहेको नयाँ शक्ति श्रोतले बताएको छ । नयाँ शक्तिले पूर्व सभासद ज्ञानेन्द्र कुमाललाई भने समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ । अन्य साना दलहरुमा आंकाक्षी कम भएकाले समस्या देखिदैन । 


