नरेन्द्र ढकाल/गोरखा
असोज २६ गते । आगामी असार मसान्त सम्म लाप्राकबासीलाई घर हस्तान्तण गरिसक्ने एनआरएनले दाबी गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका कार्यकारी अधिकृत डाक्टर गोबिन्द पोखरेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत सहित नेपाल सरकारका उच्च पदस्थ अधिकारको टोली बस्तिको निरिक्षणका लागि लाप्राक पुगेका बखत एनआरएनका अध्यक्ष शेष घले उक्त दाबी गरेका हुन् । ‘उहाँहरुले अहिले सम्म भएका कामको ब्रिफिङ गर्नुभयो,आगामी असार मसान्त सम्म पिडितलाई घर हस्तान्तरण गछौ भनेर प्रतिवद्धता जनाउनुभयो’ लाप्राक पुगेर फर्केपछि गोरखा समाचारसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।

गैर आवासिय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक इन्द्रा बन, नेपाली सेनाका बलाधिकृत रथी महत, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल, नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बड, प्रमुख जिल्ला अधिकारी बस्नेत लगायतका सरोकारवालाहरुलाई संघका अध्यक्ष घले र आईसीसी सदस्य जमुना गुरुङले घर निर्माण प्रकृया, यसक्रममा आइपरेका समस्या र आगामी योजनाहरु बारे जानकारी गराएका थिए ।‘अहिले सम्म २ वटा नमूना घर बनेको रहेछ, अरु ३०१ घरको डिपिसी तयारी भई अरु काम भईरहेको रहेछ, उक्त कुराको बारेमा उहाँहरुले स्थलगत रुपमा उपस्थित सबैलाई जानकारी गराउनुभयो’ प्रजिअ बस्नेतले भने ।
५ सय ७३ घर निर्माणका लागि घडेरीको रेखाङ्कन भए पनि बाँकी घरको जग निर्माण गर्ने काम भईरहेको छ । नेपाली सेना र अन्य दक्ष तथा अर्धदक्ष कामदारहरुको टोलीले काम गरिरहेको छ । आसन्न एनआरएनको चुनाव पछि निर्माण कार्य प्रभावित हुन सक्ने सरोकारवालाहरुको आशंकाको पनि घलेले आश्वस्त पार्ने प्रयास गरेका थिए ।‘यो हाम्रो ड्रिम प्राजेक्ट हो, अहिलेको टिम फेरिए पनि केही फरक पर्दैन नयाँ टिमले यसलाई निरन्त्रता दिन्छ, यसमा कुनै शङ्का नगर्नुस भनेर उहाँले भन्नुभएको छ’ प्रजिअ बस्नेतले भने ।
उक्त अबसरमा घर निर्माणमा प्रयोग भएको इन्टरलक ब्लक, काठ, ढुङ्गा लगायतका बारेमा पनि छलफल भएको थियो । यस अघि काठका बारेमा बिबाद भए पनि अन्ततः एनआरएनले नै सबै घरका लागि आवश्यक काठ उपलब्ध गराउने गरी ठेक्का प्रक्रिया समेत सुरु गरिसकेको घलेले बताए ।

कुल १ अर्ब लागतमा गुप्सी पाखालाई नेपालकै नमूना हेर्न लायक गन्तव्य निर्माण गर्ने एनआरएनले दाबी गरेको छ ।‘हामी सबै लागेर कठिन परिस्थीतमा पनि काम गरेका छौं, यसले सुखद नतिजा ल्याउँछ’ सस्थापक अध्यक्ष उपेन्द्र महतोले भने । ५७३ घर निर्माणमा मात्र ७० करोड लागत लाग्ने अनुमान गरिएको छ । अन्य रकम स्थानिय पुर्वाधार बिकासमा खर्च गर्ने योजना बनाईएको छ ।
जसअनुसार केही गुम्बा र सग्राहालय सम्म बनाउने बतार्ईएको छ । पहिलेको डिजाईनमा शौचालय नराखेको एनआरएनले स्थानियको माग र सरोकारवालाहरुको पहल पछि शौचालय निर्माणलाई पनि योजनामा समावेश गराएको छ । सोका लागि भने हाल छुट्याईएको बजेट अपुग हुने भएपछि थप रकम संकलनको तयारी भईरहेको बारेमा पनि जानकारी गराईएको प्रजिअ बस्नेतले बताए ।
निरिक्षिणका क्रममा लाप्राक आएका नेपाली सेनाका बलाधिकृत रथी महतले घर निर्माणको काम नसक्दा सम्म नेपाली सेनाको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।‘काम नसक्दा सहयोग जारी राख्छौ भनेर उहाँले सबै सामु भन्नु भएको छ’ प्रजिअ बस्नेतले भने । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले तोकिएको समय भित्र गुणस्तरिय काम गरी जनतालाई सुरक्षित घरमा सार्ने काममा जोड दिन एनआरएनलाई आग्रह गरेका थिए ।
सोही अबसरमा केयर नेपालले निर्माण गरिरहेको खानेपानी आयोजनाको निरिक्षण गरिएको थियो ।
तस्बिर सौजन्य प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत


